स्थानीय सरकारलाई बालविवाह प्रमुख सामाजिक समस्या

स्थानीय सरकारलाई बालविवाह प्रमुख सामाजिक समस्या
सुन्नुहोस्

दैलेख – भैरबी गाउँपालिका ६ नं. का वडाध्यक्ष तुलबहादुर हमालले स्थानीय सरकारका लागि बालविवाह प्रमुख सामाजिक समस्या रहेको बताउनुभयो । बालविवाह बिरुद्धको साझा अभियान दैलेखले भैरबी गाउँपालिकामा आज आयोजना गरेको बालविवाह बिरुद्धको रणनीति निर्माण अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । 

हामी रोकथाममा कोशिस गरिरहेका छौं तर बालविवाह रोकिएको छैन वडाध्यक्ष हमाले भन्नुभयो । कार्यक्रम भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले सोसेक नेपाल र आवाज संस्थाले बालविवाह बिरुद्ध गरेको सचेतना अभियानले बाल क्लवको सक्रियतामा रचनात्मक काम थालिएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा बालविवाह बिरुद्धको साझा अभियान दैलेखका संयोजक बसन्त श्रेष्ठले बालविवाह बिरुद्धको रणनीति निर्माण बनिसकेपछि योजनाबद्ध कार्यक्रम तय गर्न र श्रोत जुटाउन सहज हुने बताउनुभयो । त्यसबखत भैरबी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख निर्मला आचार्यले बालविवाहले बालिकाको शिक्षा असर पारेको समस्या औंल्याउनुभयो । 

विद्यार्थीहरुका तर्फबाट बोल्दै गौरी मावि बालेकाँडाका विद्यार्थी भूपेन्द्र बिक र हिमालय मावि डाँडीमाडीकी मीना हमालले बालविवाह रोकथाममा बाल क्लवहरुको प्रयास, समुदायको सहकार्य र गाउँपालिकाबाट यसका लागि नीति र बजेटको आवश्यकता दर्शाउनुभएको थियो । 

बालविवाह बिरुद्धको रणनीति निर्माण सवालमा अधिकर्मीद्वय चेतन गिरी र अमर सुनारले सहजीकरण गर्नुभएको थियो बालविवाह बालबालिका स्वयमको शिक्षा, स्वास्थ्य र आर्थिक जीवनमा पारेको असर, समुदायमा यसको नकारात्मक प्रभाव र समाधानका उपाय विषयमा उहाँहरुले सहजीकरण गर्नुभएको थियो । त्यसबखत समूहगत छलफल र प्रस्तूती समेत गरिएको थियो । 
 

प्रतिक्रिया