बसन्त माविका दश विद्याथीलाई ‘तपेन्द्र स्मृति’ छात्रबृति पुरस्कार

बसन्त माविका दश विद्याथीलाई ‘तपेन्द्र स्मृति’ छात्रबृति पुरस्कार
सुन्नुहोस्

दैलेख – दैलेखको बसन्त मावि किमुगाउँमा आज आयोजित औपचारिक कार्यक्रममा अघिल्लो शैक्षिक सत्रमा लिइएको वार्षिक परीक्षामा उत्कृष्ठ स्थान हासिल गरेका १० जना विद्यार्थीलाई जनही पच्चीस सयका दरले ‘तपेन्द्र रावल स्मृति’ छात्रबृति पुरस्कार दिइएको छ । 

कक्षा १ की ऐश्वर्य मल्ल, कक्षा २ का अर्जुन न्यौपाने, कक्षा ३ की विन्दु ज्यामुरेल, कक्षा ४ की अञ्जना खड्का, कक्षा ५ की आरती खनाल, कक्षा ६ का हितेश कोइराला, कक्षा ७ का सुमन खड्का, कक्षा ८ की दिक्षा खनाल, कक्षा ९ की पार्वती खड्का र कक्षा १० का निखिल सिंहलाई उक्त छात्रबृति दिइएको विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले जानकारी दिनुभयो । 

नारायण नगरपालिका–८ सिमाडा घर भई नेपाली सेनाका तत्कालिन मेजर स्वर्गीय तपेन्द्रबहादुर रावलले अध्ययन गरेको बसन्त मावि किमुगाउँमा अध्ययनरत जेहेन्दार १० जना विद्यार्थीलाई जनही पच्चीस सयका दरले छात्रबृति उपलब्ध गराउन परिवारजनले ‘तपेन्द्र रावल स्मृति’ कोष स्थापना गरेका छन् । 

२०५७ मा एसएलसी परीक्षामा सवर्वोत्तकृष्ट हासिल गरेका मेजर रावल २०७२ वैशाख १२ को विनासकारी भुकम्पमा घाइतेहरुको उद्धारका लागि गएको हेलिकप्टर दोलखा जिल्लाको सुनाखानीमा दुर्घटना हुँदा २०७२ वैशाख २९ गते निधन भएको थियो । 

स्वर्गीय मेजर तपेन्द्रका बुबा बलबहादुर रावल, नेपाली सेनानी कालिदत्त गुल्मका मेजर दिपेन्द्र खड्का, नारायण नगरपालिका–७ का वडाध्यक्ष खड्कबहादुर शाही, बसन्त मावि किमुगाउँका विव्यस अध्यक्ष सुरतबहादुर रावत, प्रधानाध्यापक धर्मराज खड्का, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाको रोहबरमा उक्त छात्रबृति वितरण गरिएको थियो । 

प्रतिक्रिया