भुकम्प प्रभावित क्षेत्रका छात्रालाई फाउन्डेशनको छात्रवृति सहयोग

भुकम्प प्रभावित क्षेत्रका छात्रालाई फाउन्डेशनको  छात्रवृति सहयोग

   जाजरकोट - श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छान्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ । फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन तीन पालिकाका १५ जना छान्रालाई छात्रवृत्ति वितरण गरेको हो ।
 गैरआवसिय जाजरकोटको भेरी नगरपालिका १ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष ज्योति कटुवालले बताउनुभयो ।  
रूकुम पश्चिमको आठवीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उहाँको भनाई छ । १५ जना छात्राहरूलाई स्कुल पोशाक, स्टेशनरी सामाग्रीलगायत वितरण गरिएको थियो । छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएका अति विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

 फाउन्डेसनले छनोट गरेका बालिकाका अभिभावकहरूलाई नगरपालिकामार्फत आयआर्जनको कार्यक्रम दिइने जैशीले जानकारी दिनुभयो ।  अति आवश्यक ठाउँमा सहयोग पुगेको छ, यो सहयोग उच्च शिक्षा अध्ययनसम्म कायम रहोस् । उहाँले भन्नुभयो,नगरपालिकाबाट हुने सहयोग गर्न हामी तयार छौं ।

जनज्योति मावि आठवीसकोट रूकुम पश्चिमका प्रधानाध्यापक मन्जुदेवी खड्काले स्कुल पोशाक र लेख्नका लागि कापी र कलमसम्म नपाउँदा धेरै बालबालिका पढाईबाट बन्चित रहेको जानकारी दिनुभयो । भुकम्पपछि त रूकुम र जाजरकोटमा यो ठूलो समस्या बनेको छ । संकटका बेला ज्योति फाउन्डेसनको सहयोग धेरै महत्वपूर्ण काम गरेकोमा धन्यवाद दिनुभयो । फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयोग गर्ने बताउनुभयो ।  छात्रवृत्ति दिइएका छात्राहरूको स्वास्थ्य विमाको जिम्मेवारी पनि फाउन्डेसनले लिनेछ ।  फाउन्डेसनको स्थापना लगत्तै जाजरकोट केन्द्रविन्दू बनाएर भुकम्प गएकाले तत्काल जाजरकोट र रूकुम पश्चिमका छोरीहरूलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा कर्णाली अन्य जिल्लाहरूमा पनि छोरीहरूका लागि कार्यक्रम सन्चालन गरिनेछ,उहाँले थप्नुभयो  । 

प्रतिक्रिया