सुत्केरी हुन स्वास्थ्य चौकी पुग्ने महिला र कुरुवालाई खानाको व्यवस्था

सुत्केरी हुन स्वास्थ्य चौकी पुग्ने महिला र कुरुवालाई खानाको व्यवस्था

रुकुमपश्चिम -   रुकुम पश्चिमको एक स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिला र कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ११ मा रहेको भलाक्चा स्वास्थ्य चौकी व्यवस्थापन समितिले गर्भवती र एक जना कुरुवालाई निःशुल्क खानाको व्यवस्था गर्ने भएको हो ।

स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने आमा र एक जना कुरुवालाई दुई छाक खानाको निःशुल्क व्यवस्था मिलाउने गरी निर्णय भएको वडा अध्यक्ष समेत रहनु भएका स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खानामा लाग्ने खर्चको व्यवस्थापन वडा कार्यालयबाट हुनेछ । लगानी थोरै भए पनि सेवाको हिसाबले सुत्केरी आमा तथा कुरुवालाई निःशुल्क खाना खुवाउनु भनेको महत्त्वपूर्ण पक्ष रहेको अध्यक्ष बुढाले जानकारी दिनुभयो । सुत्केरी हुँदा घरबाट खाना बोकेर ल्याउन समस्या हुने भएकाले सहजताको लागि स्वास्थ्य चौकीमै निःशुल्क खानाको व्यवस्था मिलाउने निर्णय गरिएको उहाँको भनाई छ ।

स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकी जिल्ला अस्पताल सल्ले रेफर गर्नुपर्ने अवस्था आएमा भने नगरपालिकाको एम्बुलेन्स समेत निःशुल्क रूपमा व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया