रेडक्रसद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री सहयोग

रेडक्रसद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री सहयोग

काठमाडौँ - नेपाल रेडक्रस सोसाइटी रुकुम (पश्चिम) जिल्ला शाखाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ र १० का ९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई हिजो आज एक कार्यक्रमको आयोजना गरी सहायता सामग्री हस्तान्तरण गरेको हो । 

कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत बस्न तथा हिँडडुल गर्न सहज होस् भनी ह्वील चियर लगायतका सहायता सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला कार्यक्रम संयोजक सरोज थापाले बताउनुभयो । 

पालिकाबाट सिफारिस भई आएका अपाङ्गता भएका व्यक्तिहरूलाई सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ३ वटा ह्वील चेयर, ५ वटा छडी र एक जना लाई वैशाखी र एक जनालाई कमोड चेयर हस्तान्तरण गरिएको हो । 

त्यस्तै सानीभेरी गाउँपालिकामा पनि सहायता सामाग्री वितरण गर्ने कार्यक्रम रहेको थापाले बताउनुभयो । रेडक्रसले यसअघि भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि सहयोग गरेको थियो भने तत्कालको परिपूरणका लागि बहुउद्देश्यीय नगद समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया