संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल भएको थियो । छलफलमा कांग्रेसले राखेको तीन बुँदे मागमा प्रधानमन्त्री दाहालले आफू उक्त मागबारे सकारात्मक रहेको बताउनुभएको थियो ।
प्रधानमन्त्री दाहालले कांग्रेसले राखेको तीन बुँदे मागलाई सत्ता साझेदारसँग छलफल गरेर कांग्रेससँग छलफल गर्ने बताउनुभयो । बैठकबारे जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत भएको बताउनुभयो ।रमेश लेखक उहाँले भन्नुभयो,‘ उहाँ सकारात्मक हुनुहुन्छ । यो विषयमा सत्त साझेदार दलसँग छलफल गरेर कांग्रेससँग थप छलफल गर्ने भन्नुभएको छ । ’
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुग्नुभएको थियो ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सांसद अवरुद्ध गर्दै आइरहेको छ । प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्यको प्रयासमा कांग्रेसका नेताहरुसँग सम्वाद जारी राख्नुभएको छ ।
प्रतिक्रिया