खडेरीले सुक्दै पानीका स्रोत

खडेरीले सुक्दै पानीका स्रोत

चितवन -  खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्दै थालेपछि वन्यजन्तु समस्यामा परेका छन् ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ वटा तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको बताउनुभयो  ।

उहाँले प्राकृतिक र निकुञ्जले बनाएका कृत्रिम तालसहित सिमसार क्षेत्र, नदी, खोलामा गत वर्षको तुलनामा पानीको सतह घटेको पनि उहाँले बताउनुभयो  । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले लामो समयसम्म पानी नपरेकाले पानीको सतह घटेको बताउनुभयो   । चर्को घामले वास्पिकरण भएर जाने तर पानी नपर्ने हुँदा तालतलैयाको पानीको सतह घटेको बताउनुभयो  ।

उहाँले भन्नुभयो, “विगतका वर्षमा भन्दा यसवर्ष पानीको सतह घटेको अनुमान गरिएको छ । यस वर्ष हिउँदमा कम पानी परेकाले यस्तो समस्या आएपछि यहाँका वन्यजन्तु प्रत्यक्ष प्रभावमा परेका छन् ।”

दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा गर्मीयाममा तालतलैयामा आहाल खेल्न रुचाउँछ । अन्य वन्यजन्तुलाई पानी अत्यावश्यक हुन्छ तर यहाँका पुराना ताल र सिमसार क्षेत्रमा सोहीअनुसार व्यवस्थापनका काम हुने गरेका छैनन् । 

कार्यालयले भने बजेट अभावका कारण तालतलैयाको माटो, गेग्रानलगायत पानीका मुहानमा सरसफाइ र व्यवस्थापनको काम गर्न समस्या भएको जनाएको छ ।

“पानीका स्रोत व्यवस्थापनका लागि आर्थिक वर्ष २०७५/७६ मा रु एक करोड ४५ लाख बजेट विनियोजन भएको थियो । त्यसवर्ष ६० वटा ताल व्यवस्थापनको काम गरेका थियौँ । चालु आर्थिक वर्षसम्म आइपुग्दा सो बजेट घटेर रु २५ लाखमात्र विनियोजन भएको छ, जसले गर्दा व्यवस्थापनका काममा कठिनाइ भएको हो”, संरक्षण अधिकृत पुनले भन्नुभयो  ।
 
सो रकमले सातवटा तालतलैयामात्र व्यवस्थापन गरिएका छन् । पर्याप्त बजेट नहुँदा नयाँ पोखरी खन्ने र पुरानाको सरसफाइ र मर्मत गर्ने काम हुन नसकेकाले वन्यजन्तु मानव बस्तीमा प्रवेशगरी मानव—वन्यजन्तु द्वन्द्व बढ्ने जोखिम रहेको उहाँको भनाइ छ । 

प्रतिक्रिया