काठमाण्डौमा हुने दुई दिने अन्तर्राष्ट्रिय संवादको तयारी पूरा

काठमाण्डौमा हुने दुई दिने अन्तर्राष्ट्रिय संवादको तयारी पूरा

काठमाण्डौ –  काठमाण्डौमा हुने दुई दिने अन्तर्राष्ट्रिय संवादको तयारी पूरा भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

हिमाल, मानव र जलवायु परिवर्तनबारेको संवादमा विभिन्न देशका ६१ विदेशी विज्ञ तथा पाहुनाको सहभागिता रहनेछ । वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुले हिमालमा पारेको विषयलाई महत्त्वका साथ उठाउँदै आएको र अब नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यो विषयलाई अन्तर्राष्ट्रिय रूपमै संस्थागत गर्न संवाद महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

विकसित देशले गरेको उच्च कार्बन उत्सर्जनको परिणामस्वरूप नेपालका हिमालमा हिमस्खलन बढेको छ । हिउँ पग्लेर बगेको पानी समुद्रमा पुग्दा त्यसको सतह बढेर बङ्गलादेश, माल्दिभ्सलगायतका टापु राष्ट्रहरूको अस्तित्व सङ्कटमा पर्दै गएको सम्मेलनका संयोजक डा। महेश्वर ढकालले बताउनुभयो ।

प्रधानमन्त्रीका जलवायु विज्ञ डा। पुपलर जेण्टलले यो संवादलाई जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमबारे छलफल गर्न सशक्त मञ्चका रूपमा स्थापित गरिने बताउनुभयो । संवादमा सहभागी हुन संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकायका अध्यक्ष ह्यारी ब्रेउल्स नेपाल आइसक्नुभएको छ ।

त्यस्तै यूएनएफसीसीसीको सचिवालयका प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घका निकायका प्रतिनिधि, विश्व बैंक, एशियाली विकास बैंकलगायत निकायका प्रतिनिधि संवादमा सहभागी हुनेछन् । नेपालका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने स्थल चन्द्रागिरिमा संवाद चल्ने छ । संवादको उद्घाटन भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुनेछ ।

प्रतिक्रिया