अपाङ्गता भएका व्यक्तिको सारथि बन्दै रेडक्रस

अपाङ्गता भएका व्यक्तिको सारथि बन्दै रेडक्रस

रुकुमपश्चिम -  नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम अपाङ्गता भएका व्यक्तिहरूको सारथि बन्दै गएको छ । रेडक्रसले जिल्लाका त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री प्रदान गरेको छ ।

 केही दिन अघि त्रिवेणिमा सहायता सामग्री वितरण गरेको रेडक्रसले आज सानीभेरी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री हस्तान्तरण गरेको हो । 

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ तथा अन्य साझेदार राष्ट्रिय सोसाइटीहरूको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी रुकुम (पश्चिम) शाखाले सञ्चालन गरिरहेको कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत सानीभेरी गाउँपालिका वडा नम्बर २, ३, ४, ६, १० र ११ का १४ जनालाई सहायता सामग्री बाँडेको जिल्ला कार्यक्रम संयोजक सरोज थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार ५ जना पुरुष र ९ जना महिलालाई विभिन्न प्रकारका सहायता सामग्रीहरू हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाको पायक पर्ने ३ स्थानहरूमा सहायता सामाग्री वितरण गरिएको उहाँको भनाई छ । 

पालिकाबाट छनौट र सिफारिस भई आएका साथै सहायता सामग्रीको अति आवश्यकता महसुस गरिएका अपाङ्गता भएका व्यक्तिहरूलाई बस्न तथा हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले ५ वटा ह्वील चेयर, २ वटा बैसाखी, ६ वटा छडी र एउटा कमोड चेयर लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको थापाले बताउनुभयो ।

सहायता सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापनमा सहजता आउने रेडक्रसले विश्वास लिएको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोका, नेपाल रेडक्रस सोसाइटी रुकुम (पश्चिम) शाखाका कोषाध्यक्ष यज्ञ खत्री, अर्मा उपशाखाका प्रतिनिधि, परियोजना अन्तर्गतका कर्मचारीहरूको समेत उपस्थिति रहेको बताइएको छ । 

प्रतिक्रिया