क्रिकेटर घर्तीलाई मुसिकोटको १ लाख सहयोग

क्रिकेटर घर्तीलाई मुसिकोटको १ लाख सहयोग

रुकुम पश्चिम -   रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले क्रिकेटर अर्जुन घर्तीलाई एक लाख सहयोग गर्ने भएको छ । ३३ औँ नगर कार्यपालिका बैठकले राष्ट्रिय क्रिकेट खेलाडी मुसिकोट नगरपालिका १३ का अर्जुनलाई एक लाख सहयोग गर्ने निर्णय गरेको हो । खेल सामग्री खरिदका लागि उक्त सहयोग गर्ने निर्णय भएको नगर प्रमुख महेन्द्र केसीका स्वकीय सचिव सूर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय टिममा परेर मुसिकोट नगरपालिका, जिल्ला हुँदै सिङ्गो कर्णाली प्रदेशकै शिर उँचो बनाएको भन्दै थप प्रगतिका लागि टेवा पुगोस् भन्ने उद्देश्यले सामग्री खरिदका लागि सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उक्त रकम क्रिकेट अर्जुनलाई हस्तान्तरण गर्न भने बाँकी रहेको छ । सामग्री खरिद गरेपछि बिलका आधारमा रकम भुक्तानी हुने नगरपालिकाले जनाएको छ । यसले उनको क्षमता विकासमा टेवा पुग्ने विश्वास नगरपालिकाले गरेको छ ।

विकेट किपर ब्याट्सम्यान अर्जुन कर्णाली प्रदेशबाट इमिर्जिङ प्लेयरका रूपमा राष्ट्रिय खेलाडीका रूपमा छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सात वटै प्रदेशबाट एक–एक जनाका दरले इमर्जिङ प्लेयरलाई राष्ट्रिय खेलाडीका रूपमा छनोट गरेको छ । उनीहरूले क्यानबाट मासिक २५ हजार तलब पाइरहेका छन् । अर्जुनले नेपाल ‘ए’ टिमबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु समेत गरिसकेका छन् । उनले नेपालका तर्फबाट आयरल्यान्ड ‘ए’ विरुद्ध डेब्यु गरेका थिए ।

भारतमा क्रिकेट सिकेका अर्जुन लामो समय देखि रुकुम पश्चिम हुँदै कर्णाली प्रदेशबाट विभिन्न राष्ट्रिय तथा प्रदेश स्तरका प्रतियोगिता खेलिरहेका छन् । -कखरा

प्रतिक्रिया