काठमाण्डौ महानगरका पेट्रोल पम्पहरूमा लगाइयो पहेंलो रङ

काठमाण्डौ महानगरका पेट्रोल पम्पहरूमा लगाइयो पहेंलो रङ

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका क्षेत्रका पेट्रोल पम्पहरूमा एउटै पहेंलो रङ लगाइएको छ । महानगरले एक महिना अघिदेखि महानगरभित्रका सबै पेट्रोल पम्पहरूलाई समान पहिचान सङ्केत दिनका लागि पहेंलो रङ लगाएको हो । महानगरकाअनुसार सबै पेट्रोल पम्पले शौचालयहरू नियमित सरसफाई गरी निःशुल्क सेवा सुविधा उपलब्ध गराउने छन् ।

पेट्रोल पम्प सञ्चालन मापदण्ड अनुसार हरेक पेट्रोल पम्पमा अनिवार्य निःशुल्क शौचालय सुविधा हुनुपर्ने, अग्नि नियन्त्रक उपकरण सहितको सुविधा हुनुपर्ने, पर्याप्त खुल्ला ठाउँ हुनुपर्ने, सुरक्षा सङ्केत र सुरक्षा रेखाको प्रयोग गरिएको हुनुपर्ने लगायतका मापदण्डको पालना गर्न समेत पेट्रोलियम डिलर्समार्फत् महानगरले अनुरोध गरेको छ ।

मेयर बालेन्द्र शाहले उपभोक्तालाई शुद्ध पेट्रोलियम पदार्थ सहज र सुरक्षित उपलब्ध गराउने, पेट्रोल पम्पसँग जोडिएका सडक पूर्वाधार तथा सडक उपयोगको सुविधा व्यवस्थापनका लागि प्रतिबद्ध रहेको भन्दै तत्काल, मध्यकाल र दीर्घकाल गरी चरण चरणमा काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

तत्काल सुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसनका प्रतिनिधिसहितको टोलीले दिएको प्रतिवेदनमा उल्लेख भएका सुझावका आधारमा  महानगरपालिकाभित्रका सबै पेट्रोल पम्पको पहिचान पहेँलो रङ्ग सङ्केतमा दिइएको छ ।

पेट्रोल पम्पहरूले सबैका लागि सफा शौचालय निःशुल्क उपलब्ध गराएका छन् । यसको सङ्केत चिन्हका रूपमा महानगरपालिकाले नीलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचय पाटी राखिएको छ ।

 

प्रतिक्रिया