विपद प्रतिकार्यसम्बन्धी कृत्रिम नमूना अभ्यास

विपद प्रतिकार्यसम्बन्धी कृत्रिम नमूना अभ्यास

रुकुम पश्चिम -   रुकुम पश्चिमको सानीभेरी नदीमा विपद प्रतिकार्य सम्बन्धी कृत्रिम नमुना अभ्यास गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको संयोजन र नेपाली सेनाको चण्डीदल गण सल्लेको अगुवाइमा मुसिकोट नगरपालिका -३ स्थित सानीभेरी नदीमा अभ्यास गरिएको हो । नदीमा बाढी आयो र त्यसले बस्तीमा क्षति गर्‍यो भने कसरी उद्धार गर्ने भन्ने विषयमा अभ्यास गरिएको थियो । बाढीका कारण घरमा थुनिएका तथा डुबानमा परेका र नदीमा फसेका व्यक्तिलाई उद्धार गरेर देखाइएको थियो ।

विभिन्न विधि मार्फत डुबानमा परेका मानिसहरूलाई उद्धार गरिएको थियो । साथै घाइतेहरूलाई उद्धार गरेर कसरी स्वास्थ्य संस्थासम्म पुर्‍याउने भन्ने बारेमा पनि अभ्यास गरिएको थियो ।

अब मनसुन सुरु हुन गइरहेको अवस्थामा जिल्लामा हुनसक्ने बाढीजन्य विपतका घटनामा उद्धार गर्न सहज होस भनेर नमुना अभ्यास गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार विपत् प्रतिकार्य योजना अन्तर्गत कृत्रिम नमुना अभ्यास भएको हो ।

नमुना अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र मुसिकोट प्रहरीको समेत सहभागिता रहेको थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, चण्डी दल गणका गणपति प्रमुख सेनानी शरद थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोख्रेल, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया