महानगरले गेटमा धुलाे खन्याइदिएपछि सडक डिभिजनद्वारा सह्य नहुने चेतावनी
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले गेटमा धुलो खसालिदिएको विषयमा सडक डिभिजन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले हिजो सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा धुलो खन्याएलगत्तै कार्यालयले यस्ता अराजक व्यवहार सह्य नहुने चेतावनी दिएको छ ।
एक विज्ञप्ति निकालेर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका अराजक व्यवहार सह्य नहुने र त्यसको प्रतिकार गर्न बाध्य हुने सडक डिभिजन कार्यालयले उल्लेख गरेको छ ।
सडक डिभिजनले विवादको विषय रिङरोड नभई न्युरोड क्षेत्रको बाटो भएको जनाएको छ । न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका फुटपाथ बनाउन भन्दै महानगरले हिजो दिउँसो सडक काट्न शुरु गरेको थियो । सडक काटेर चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएको थियो । सडक विभागको अनुमतिविना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले जनाएको छ ।
काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहले हिजो भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै एक ट्रक धुलो उपहार पठाउनुभएको थियो । महानगरको गाडीले सडक डिभिजन काठमाण्डौको गेटमा धुलो खन्याइदिएको थियो ।
विगत १५ वर्षदेखि काठमाण्डौका नागरिकले कलङ्कीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको भन्दै मेयर शाहले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया