युद्धले ल्याएका परिवर्तनहरु बारे सन्देश फैलाउन जरुरी

युद्धले ल्याएका परिवर्तनहरु बारे सन्देश फैलाउन जरुरी

दैलेख – प्रेस सेण्टर नेपालका केन्द्रीय सचिव नबिन रिजालले सशस्त्र युद्धले ल्याएका सकारात्मक पक्षहरुलाई परिवर्तनहरु बारे समाजमा सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता दर्शाउनुभयो । २२ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा दैलेखमा आयोजित उहाँका साहित्य र पत्रकारिता सम्वन्धी योगदानबारे चर्चा गर्दै उहाँले सो विचार राख्नुभएको हो । 

माओवादी जनयुद्धको बल प्राप्त संविधान, गणतन्त्र र समावेशी राज्य संरचना सही तरिकाले चलाउन नसक्दा राजनीतिप्रति समग्र शासन व्यवस्थाप्रति निराशा छाएको उल्लेख गर्दै प्राप्त उपलब्धीहरुको प्रचारप्रसार गर्न जरुरी रहेको केन्द्रीय सचिव रिजालले बताउनुभयो ।  

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा आयोजित ‘इच्छुक’को साहित्य, पत्रकारिता र राजनीतिक योगदान विषयमा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिताका प्रथम फूलबारी विद्या मन्दिरका रोशन बोगटी, द्वितीय मोडल स्कूलकी अरुणा बोगटी र तृतीय सनराइज बोर्डिङ्ग स्कूलकी प्रियन्सी श्रेष्ठले पुरस्कार जित्नुभयो । 

उहाँहरुलाई २५ सय, दुई हजार र १५ सय रुपैंयाँ पुरस्कार दिइएको छ । प्रतियोगितामा सर्बोत्कृष्ठ स्थान हासिल गर्ने फूलबारी विद्या मन्दिरका रोशन बोगटीले लेख्नुभएको ‘इच्छुक’को साहित्य र पत्रकारिता सवालमा निबन्ध वाचन गर्नुभएको थियो । बोगटीले जनयुद्धमा मानवीय क्षति दुखद कुरा भए पनि न्याय र समानताका पक्षमा धेरै सकारात्मक उपलब्धीहरु भएका उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर खाण, नेपाली काँग्रेसमा महाधिवेशन प्रतिनिधि भूपेन्द्रशाही, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष मायाराम अधिकारी, प्रेस यूनियनका नवनिर्वाचित सभापति अभिशेक सोनी, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भीम सिजापतिले ‘इच्छुक’को साहित्य, पत्रकारिता र राजनीतिक योगदान बारे चर्चा गर्नुभएको थियो । 

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस र उहाँले आमूल परिवर्तनको पक्षमा पु¥याउनुभएको योगदान बारे प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य अमर सुनार, जिल्ला अध्यक्ष रामकृष्ण कठायत र सचिव तीर्थ भण्डारीले प्रकाश पार्नुभएको थियो । 

प्रतियोगिता सञ्चालन गर्न दैलेखको नौमूले गाउँपालिका–६ सल्लेरी घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्तै आउनुभएका समाजसेबी मानेन्द्र चन्द ठकुरीले १३ हजार रुपैंयाँ सहयोग गर्नुभएको थियो । बालबालिकाका लागि शिक्षाप्रद कार्यक्रम भएकोले आफूले सहयोग गरेको चन्दले बताउनुभयो ।  
 

प्रतिक्रिया