राउटे समुदाय बारे अवस्था अध्ययन प्रतिवेदन पुस्तक प्रकाशित

राउटे समुदाय बारे अवस्था अध्ययन प्रतिवेदन पुस्तक प्रकाशित
सुन्नुहोस्

दैलेख – नेपाल सरकारले राउटेलाई अल्पसंख्यक समूहमा पनि सूचीकृत गरेको राउटे समुदायको अवस्था अध्ययन सम्बन्धी प्रतिवेदन पुस्तक प्रकाशित भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २४ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौंमा भएको औपचारिक कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी र आयोगका अध्यक्ष तपबहादुर मगरले विमोचन गर्नुभयो । 

प्रकाशित पुस्तकमा २०७८ अनुसार सुदुरपश्चिम प्रदेशको डडेल्धुरा पर्शुराम नगरपालिका–७ आमपानीका चार सय १९ र कर्णाली प्रदेशको दैलेखको गुराँस गाउँपालिका–८ लालीकाँडाका बासिन्दा मानिएका एक सय ४७ जना समेत पाँच सय ६६ जना राउटे रहेको उल्लेख छ ।  पुस्तक ७५ पेजको रहेको छ । 

आमपानीका राउटेहरु स्थायी बसोबास गरेका भएकोले दैलेखका राउटेहरुले राउटे मान्दैनन् । दैलेखका राउटेहरु हरेक २–३ महिनामा बस्ती सर्ने गर्ने गर्दछन् । पछिल्लो राष्ट्रिय जनगणना अनुसार एक सय ४७ जनाइए पनि यो दुई वर्षको अवधिमा ७४ महिला र ६३ पुरुष गरी एक सय ३७ जना मात्र बाँकी रहेका छन् । 

लोपोन्मुख आदिवासी राउटे समुदायमा तीन गोत्र कल्यायन, रास्कोटी र स्ववंशीका परम्परागत मुखिया पद्धतिमा आधारित स्वशासन अभ्यास छ । घुम्दै  बस्ती सर्ने क्रममा राउटेहरु मुख्यतया जाजरकोट, दैलेख, सल्यान, कालिकोट, सुर्खेत तथा लुम्बिनी प्रदेशको दाङसम्म पुग्ने गरेका छन् । 

राउटे समुदायको जीवनशैलीमा अध्ययन गर्ने, उनीहरुको मानव अधिकारको सम्मान तथ्था संरक्षण तथा प्रवद्र्धन गर्ने, समस्याहरु पहिचान गर्ने, समस्या समाधान उचित उपाय पहिल्याउने मुख्य उद्देश्यले प्रतिवेदन पुस्तक प्रकाशित गरिएकाे राष्ट्रिय मावन अधिकार आयोगका सचिव मुरारी खरेलले बताउनुभयो । 

प्रतिवेदन पुस्तक प्रकाशित गर्न राष्ट्रिय मावन अधिकार आयोगलाई राउटे समुदायमा काम गर्दै आएको सोसेकले सूचना श्राेत र समन्वय गहयाेग गरेकाे नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले जानकारी दिनुभयो । सोसेक नेपालले राउटे समुदायको स्वास्थ्य सचेतना र वानी व्यवहार सुधारका लागि सघाउन राउटेसंग बस्ती सर्ने गरी राउटे परियोजना सञ्चालन गरेको छ । 

प्रतिक्रिया