भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि इन्टरलकिङ इट्टाकाे माग बढ्दो

भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि इन्टरलकिङ इट्टाकाे माग बढ्दो

रुकुम पश्चिम -    रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रहरूमा इन्टरलकिङ इट्टाको माग बढेको छ । भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि इट्टाको माग बढेको हो । बिल्डअप नेपालले उत्पादन गरेका इन्टरलकिङ इट्टा सहज हुनुका साथै सस्तो समेत पर्ने भएकोले माग बढेको बताइएको छ ।

 ७२ जिल्लामा सेवा बिस्तार गरेको बिल्डअप नेपालले भूकम्प पछिको पुनर्निर्माणलाई लक्षित गरेर जाजरकोटको भेरी नगरपालिका १ रिम्नामा शाखा विस्तार गरेको छ । उक्त शाखाले जाजरकोट र रुकुम पश्चिमलाई हेरिरहेको छ । उत्पादन सुरु भएको ६ वर्षमै बिल्डअप नेपालले सेवाको दायरा फराकिलो बनाउन सफल भएको छ । 

जाजरकोट शाखा प्रबन्धक समीर भट्टराईका अनुसार बजारको मागको आधारमा देशमा ७२ जिल्लामा उद्यमी बिस्तार गरिएको हो । सेवा सुरु गरिएको ६ वर्षमै बजार माग अत्यधिक भएको उहाँले बताउनुभयो । हालसम्म इन्टरलकिङ इट्टाबाट १० हजार बढी भौतिक संरचना निर्माण भइसकेका छन् भने चार सय बढी उद्योगीलाई इन्टरलकिङ इट्टा उत्पादन गर्ने आधुनिक मेसिन वितरण गरेर ७२ जिल्लामा उत्पादन भइरहेको छ । 

शाखा प्रबन्धक भट्टराईले पछिल्लो समय भूकम्प प्रभावित क्षेत्रमा प्रकोप प्रतिरोधात्मक संरचना निर्माण गर्ने उद्देश्यका साथ जाजरकोट र रुकुम पश्चिमका लागि बिल्डअप नेपालले सेवा सुरु गरेको बताउनुभयो । अहिले भेरी नगरपालिका वडा नम्बर १ रिम्नाबाट सेवा दिँदै आइरहेको उहाँले जानकारी दिनुभयो । 

भूकम्प प्रभावित क्षेत्रमा प्रकोप प्रतिरोधी संरचना निर्माणका लागि विभिन्न छलफल, तालिम लगायत विभिन्न निकायहरूसँग सहकार्य गरिएको उहाँले बताउनुभयो । बिल्डअप नेपालले कम्युनिटी इम्प्याक्ट नेपालको सहकार्यमा इन्टरलकिङ इट्टाको प्रयोग मार्फत कम लगानीमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री  र आकर्षक संरचना निर्माणको काम गरिरहेको छ ।  

इन्टरलकिङ इट्टाको प्रयोग मार्फत भेरी नगरपालिका वडा नम्बर १ जाजरकोटमा रहेको बागेश्वरी मावि, यार्सन र कारिदाससँगको सहकार्यमा पिपेमा २ कोठे भवन, रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १४ मा नगर प्रहरी भवन, चौरजहारी नगरपालिकामा सामुदायिक भवन, बारेकोर गाउँपालिकामा दुई विद्यालयका ९/९ कोठे भवन निर्माणको काम भइरहेको छ । यी भवनहरू अहिले नमुनाको रूपमा निर्माण भइरहेका हुन् । 

यस टेक्नोलोजीबाट अहिले जाजरकोट र रुकुम पश्चिममा प्रकोप प्रतिरोधात्मक २० वटा घर निर्माण भैसकेका छन् भने अन्य घरहरू निर्माणाधीन रहेका छन् । बिल्डअप नेपालले विभिन्न सङ्घ संस्थाको सहकार्यमा इन्टरलकिङ इट्टाको प्रयोगमा भौतिक संरचना निर्माण गरिरहेको शाखा प्रबन्धक भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार दिगोपना र सामुदायिक सशक्तीकरणमा केन्द्रित भएर जाजरकोटको रिम्नामा पुनर्निर्माणका प्रयासहरू भइरहेका छन् । इन्टरलकिङ इँटाको प्रयोग गरी भौतिक संरचना निर्माणका लागि बिल्डअप नेपालले जाजरकोट र रुकुम पश्चिममा स्थानीय मिस्त्रीहरूलाई तालिम समेत दिइरहेको छ । यसबाट भौतिक संरचना निर्माणमा सहज हुने उसको विश्वास छ ।कखरा

प्रतिक्रिया