कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित

कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित

कैलाली – कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ । कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो । वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउनुहुन्छ ।

दिउँसोको समयमा पटकपटक बिजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ । टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउनुहुन्छ । यस्तै कक्षा ५ मा अध्यननरत रजनी सुनारले विद्यालयमा सबै कक्षाकोठा टिनले छाएकाले पढ्न गाह्रो हुने गरेको बताउनुभयो ।

विक्रम थारू खडक स्मृति माविमा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँको कक्षामा ९० जना विद्यार्थी अध्ययनरत छन् । शिक्षकलाई पनि पढाउन गाह्रो हुने गरेको थारु बताउनुहुन्छ । कक्षा ८ का विद्यार्थी अशुं चौधरीको कक्षामा एक सय १३ जना विद्यार्थी छन् । एउटै बेञ्चमा सात सात जनासम्म कोच्चिएर बस्नुपर्छ ।

कैलालीको टीकापुर नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन् । जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन ।

दिउँसो बालबालिकालाई गर्मीले सताउँछ । केही विद्यालयमा टिनका छाना छन् । अझ बिजुली गएका बेला बस्नै कठिन छ । प्रधानाध्यापकहरूको बैठकले सबै विद्यालय अनिवार्य दिउँसो चलाउने निर्णय गरेकाले यस वर्ष सबै विद्यालय दिउँसो सञ्चालन गरिएका हुन् ।

अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनुपर्ने मागसमेत गरेका छन् । टीकापुरबाहेकका पालिकामा विद्यालयको अवस्थाअनुसार बिहान र दिउँसो पढाइ सञ्चालनमा छ । टीकापुरमा पनि विद्यालयले चाहेअनुसार पठनपाठन गर्न सक्ने नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ ।

प्रतिक्रिया