गर्मी अत्यधिक बढ्न थालेपछि विद्यालयलाई सिलिङ पङ्खा बितरण

गर्मी अत्यधिक बढ्न थालेपछि विद्यालयलाई सिलिङ पङ्खा बितरण

पर्सा – गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ वटा सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाटै पङ्खा खरिद गरेर विद्यालयका प्रधानाध्यापकहरूलाई वितरण गरिएको विराटनगर महानगरका कार्यवाहक प्रमुख मधु तिवारीले जानकारी दिनुभयो । महानगरपालिकाका मेयर नागेश कोइरालाले गएको वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पङ्खा जडान गर्ने घोषणा गर्नुभएको थियो ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालकाअनुसार विद्यालयलाई पाँचदेखि २० थानसम्म सिलिङ पङ्खा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पङ्खाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल पाँच सय वटा पङ्खा मात्र वितरण गरिएको उहाँले बताउनुभयो ।

शैक्षिक प्रशासन महाशाखाअन्तर्गत आव २०८०/८१ मा विनियोजित २० लाख रुपैयाँ रकमबाट सामुदायिक विद्यालयमा पङ्खा वितरण गरिएको हो । अहिले यस क्षेत्रमा दैनिक ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ ।

प्रतिक्रिया