जलवायु परिवर्तनका प्रभाव घटाउन जोखिममा रहेका देशहरूबीच सहकार्य आवश्यक

जलवायु परिवर्तनका प्रभाव घटाउन जोखिममा रहेका देशहरूबीच सहकार्य आवश्यक

काठमाण्डौ – नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउने लगायत विश्व समुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका देशहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।

संयुक्त राष्ट्र सङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा परराष्ट्र सचिव सेवा लम्सालले जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको हो । सम्मेलनका क्रममा त्यहाँका परराष्ट्र, कृषि तथा व्यापारमन्त्री एभर्ली पल चेट ग्रीनीसँग उहाँले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल– एन्टिगुवा र  बरबुडा सम्बन्धका साथै अन्तर्राष्ट्रिय रूपमा अनुमोदन गरिएका विकासका लक्ष्य, दोहा कार्ययोजना तथा विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाको प्रभावकारी कार्यान्वयबारे छलफल भएको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

सम्मेलनका क्रममा अल्प विकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका हैसियतमा उहाँले साना तथा टापु राज्य एवम् अल्प विकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायको सघन सहयोगमा जोड दिनुभएको थियो । सम्मेलन आज सकिँदैछ ।

प्रतिक्रिया