सशस्त्र प्रहरी पुग्यो पाँच हजार मिटर अग्ला सीमास्तम्भको अनुगमनमा

सशस्त्र प्रहरी पुग्यो  पाँच हजार मिटर अग्ला सीमास्तम्भको अनुगमनमा

सिमकोट – नेपाल चीनको सिमाना हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकीको प्रहरीले (बिओपी) पाँच हजार मिटर अग्ला दुई वटा सीमास्तम्भहरूको अनुगमन गर्न सफल भएको छ। सीमास्तम्भहरूको नियमित अनुगमन कार्य अन्र्तगत बिओपीले एउटा सिमा स्तम्भमा एघारदेखि बाह्र घण्टा पैदल हिडेर अनुगमन गर्ने कार्य गरेको हो।

सशस्त्र प्रहरीको ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायव उपरिक्षक गुन्जन प्रताम मल्लले यस वर्ष पाँच हजार मिटर अग्ला दुई वटा सीमास्तम्भहरू बिओपी अनुगमन गर्न सफल भएको बताउनुभयो । यी सीमास्तम्भहरूलाई मौसम तथा उच्च क्षेत्रमा रहेको कारण जतिखेर पनि सुरक्षाकर्मीहरूलाई अनुगमन गर्न संभव छैन्।

हालै मात्र सिमा सुरक्षा प्रहरी हिल्साका सुरक्षाकर्मीहरूले अनुगमन गरेका सिमा स्तम्भहरूमा टाकुलेमा रहेको पाँच हजार १४ मिटर अग्लो ११ नम्बर र पाँच हजार ७० मिटर अग्लो ४ नम्बर रहेका छन्। यी दुवै सीमास्तम्भमा सात सात जना सशस्त्र प्रहरीको टोली पुगेको थियो। यसको नेतृत्वमा सिमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी निरीक्षक प्रमोद बिष्टले गर्नुभएको थियो ।

यी सीमास्तम्भहरूको अनुगमन गर्न सुरक्षाकर्मी बिहान साँढे छ बजे चौकीबाट हिडेर गई बेलुका साँढे छ बजे चौकीमा फिर्ता हुन सफल भएको थियो। हिल्साको चौकीबाट सिधै उकालो हिड्नु पर्ने भएको कारण सुरक्षाकर्मीलाई निक्कै कठिन हुने गरेको छ। सशस्त्र प्रहरी हिल्साका प्रहरी निरीक्षक बिष्टले तर पनि वर्षमा कम्तीमा एक पटक जानै पर्ने भएको कारण यसवर्ष जेठ पहिलो हप्ता मै अनुगमन कार्य भएको बताउनुभयो ।

उहाँले खाना समेत हिल्सा मै तयार पारेर बोकेर लिने र दिउसो खानु खाईएको बताउनुभयो । केही स्वास्थ्य कमजोर भएका सुरक्षाकर्मीहरूले भने उच्च क्षेत्रमा सीमास्तम्भहरूको अनुगमन गर्न जान सक्ने अवस्था रहेको छैन। दुई सीमास्तम्भको अवस्था राम्रो रहेको बताउदै उहाँले अक्सिजन कमीको कारण सुरक्षाकर्मीहरलाई समस्या हुने गरेको बताउनुभयो ।

 उहाँले यसवर्ष अब असोज महिनामा दोस्रो पटक जाने योजना रहेको बताउनुभयो । चीनसंगको सिमानामा पर्ने सीमास्तम्भहरू मध्य अव तीन र बाह्र नम्बरको सीमास्तम्भको मात्र अनुगमन गर्न बाँकी रहेको छ। ती पनि चाँडै अनुगमन हुने सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया