एक महिनादेखि खलङ्गामा खानेपानीको चरम अभाव
रुकुमपश्चिम - रुकुमपश्चिमको सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका–१ खलङ्गामा पानीको चरम अभाव भएको छ ।
विगत एक महिनादेखि जिल्ला सदरमुकाम खलङ्गा, बागबजार, सेरिगाउँलगायत आसपासका क्षेत्रमा खानेपानीको चरम अभाव भएको हो । वैशाख महिनादेखि नियमित खानेपानी नआउँदा पानीको समस्या झेल्नुपरेको मुसिकोट–१ त्रिवेणी चोकमा केटु होटल सञ्चालन गरेका उदिराम खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैशाख महिना सुरु भएसँगै नियमित खानेपानी प्रयोग गर्न सकिएको छैन । पहिले हरेक दिन दुई घण्टा साँझ बिहान नियमित पानी आउँथ्यो, करिब एक महिना भयो नियमित खानेपानी आएको छैन, एक दिन बिराएर आधा घण्टा पानी आउँछ होटल चलाउन निकै समस्या भएको छ, खत्रीले भन्नुभयो ।
नियमित पानी नआउँदा नजिकैको टटेला मुहानबाट पानी बोकेर गुजारा चलाउनुपरेको उहाँले सुनाउनुभयो । खलङ्गामै एकान्त होटल सञ्चालन गर्दै आउनुभएकी कान्ता ओलीले खानेपानीको समस्या निकै झेल्नु परिरहेको बताउनुभयो ।
ुपहिलेको वर्ष पानीको यस्तो हाहाकार भएको थाहा भएन, यस पटक त निकै समस्या भएको छ, दिनमा एक घण्टा मात्रै पानी आउँछ, सबै भाँडा भर्न पाइँदैन, कहिलेकाहीँ त होटेलमा आउने ग्राहकलाई समेत दिने पानी हुँदैन,ओलीले भन्नुभयो । पानी अभाव हुँदा सहिद मार्ग नजिकै रहेको मुहानमा गएर पानी लिने गरेको उहाँले बताउनुभयो ।
मुसिकोटमा होटल सञ्चालन गर्ने व्यवसायीलाई मात्र खानेपानीको समस्या नभएर खलङ्गामा कोठा भाडा लिएर अध्ययन गर्ने विद्यार्थीलाई समेत खानेपानीको समस्या हुने गरेको छ । एक दिन बिराएर बिहान मात्रै खानेपानी आउँदा नियमित सरसफाइमा समस्या हुने गरेको यमुनानन्द नमुना मावि कक्षा ९ मा अध्ययनरत छात्रा गङ्गा पुनले बताउनुभयो । कोठामा पानी जम्मा गर्ने भाँडा नुहँदासमेत आफूलाई बिहान भरेको पानीले दुई दिनसम्म नपुग्दा समस्या हुने गरेको उहाँको भनाइ छ ।
यसअघिका वर्ष वैशाख, जेठ महिनामा पानीको यति धेरै समस्या नभएको स्मरण गर्दै खानेपानीको समस्या हुन नदिन मुहानको संरक्षण गरेर उपभोक्तालाई नियमित पानीको व्यवस्था मिलाउनुपर्ने मुसिकोट–१ खलङ्गाकी अन्जना नकाल ओलीले बताउनुभयो । वैशाख जेठ महिनामा खानेपानीको समस्या हुँदा नजिकै मुहान भएका ठाउँमा पनि दिउँसो पालो नपाइने हुँदा रातिमा पानी भर्न जाने समस्या रहेको उहाँले बताउनुभयो ।
उपभोक्तालाई खानेपानी अनियमितका लागि नगरपालिका तथा मुसिकोट खानेपानी उपभोक्ता समितिले चासो देखाउनुपर्ने उहाँले बताउनुभयो । मुसिकोट खानेपानी सरसफाइ उपभोक्ता समितिमार्फत हाल खलङ्गा, बागबजार, सेरिगाउँ र पिपलनेटासहित एक हजार ७२ बढी उपभोक्ताले पानी प्रयोग गर्दै आएका छन् । यी सबै उपभोक्ताले अहिले नियमित पानी प्रयोग गर्न पाएका छैनन् । यस विषयमा मुसिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भने चैतदेखि मुहान सुक्दै गएपछि उपभोक्तालाई नियमित पानी पुर्याउन नसकिएको जनाएको छ ।
बजारवासीका लागि तीन लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण भए पनि हाल उक्त ट्याङ्कीमा दैनिकी एक लाख लिटर मात्र पानी जम्मा हुने गरेको मुसिकोट सरसफाइ खानेपानी उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर नेपालीले जानकारी दिनुभयो ।
उहाँका अुसार ट्याङ्कीमा जम्मा भएको २० हजार लिटर पानी पाइपमा पुग्दासम्म सकिने र बाँकी रहेको ८० हजार लिटर पानी वितरण गर्ने गरिएको छ । उक्त पानी बजारवासीका लागि पर्याप्त नहुने उनले जानकारी दिए । पानी अभाव भएपछि एक दिन खलङ्गासहित मैदान र पिपलनेटा तथा अर्को दिन बागबजार, सेरिगाउँ लगायतका ठाउँमा वितरण गर्ने गरिएको छ ।
पहिले नियमित साँझ र बिहान पानी वितरण गर्ने गरिएकामा अहिले एक दिन बिराएर बिहान एक घण्टा पानी वितरण गर्ने गरिएको अध्यक्ष नेपालीले जानकारी दिनुभयो । समितिले मुहानको संरक्षण गरेको उल्लेख गर्दै उहाँले मुहान सुक्दै गएपछि खानेपानीको समस्या भएको बताउनुभयो ।
ुमुहान नफुट्दासम्म बजारवासीले खानेपानीको समस्या झेल्नुपर्ने देखिन्छ, अहिलेसम्म यसको लागि वैकल्पिक उपाय केही छैन, उहाँले भन्नुभयो, वैशाख जेठमा पनि बजारवासीलाई नियमित रूपमा पानी वितरण गर्न वैकल्पिक उपाय खोजीका बारेमा भने नगरपालिका तथा मुसिकोट सरसफाइ खानेपानी उपभोक्ता समितिले चासो देखाएको देखिँदैन ।
प्रतिक्रिया