आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाण्डौ – आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देशमार्फत् मानिस भूमिमा निर्भर रहेको तर प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले पृथ्वी अर्थात् भूमि खराब बन्दै गएको बताउनुभएको छ । उहाँले पृथ्वीलाई स्वच्छ राख्दा मानवसँगै सबै जीवजन्तुको भविष्य सुरक्षित रहने पनि बताउनुभयो ।

त्यसतर्फ ध्यान दिएर सबै देशले वातावरण संरक्षणका लागि गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ लाग्नुपर्नेमा उहाँको जोड छ । नेपालमा वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय, मातहतका निकाय र विभिन्न सङ्घसंस्थाले पहल गर्दै आएका छन् । तर ती प्रयासबाट अपेक्षा अनुसारको उपलब्धि हुन नसकेको टिकाटिप्पणी हुँदै आएको छ । वातावरण प्रदूषणबाट मानव जीवनमा असर पर्दै आएकोतर्फ सबै सचेत हुनुपर्नेमा विज्ञको जोड छ ।

प्रतिक्रिया