रोजगार मेला : बुटवलमा आज सकिँदै, भोलि र पर्सि सुर्खेतमा
काठमाण्डौ – बुटवलमा हिजोदेखि शुरु भएको ‘श्रमाधान रोजगार मेला’ आज सकिँदैछ । मेलाको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपालमा रोजगारीको अवसर हुँदाहुँदै पनि युवा विदेशमा रोजगारीमा जाने गरेकाले अब नेपालमै रोजगारीको अवसर सिर्जना गर्न रोजगारदाता र श्रमिकले पहल गर्नुपर्ने बताउनुभयो ।
रोजगारदाता र श्रमिकबीचको खाडल गहिरो रहेको बताउँदै उहाँले त्यसलाई कम गरेर नेपालमै रोजगारी खोज्न श्रमाधान रोजगार मेलाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसङ्घ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मेला भएको हो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भैरहेको मेलामा करिब २० हजार मानिसको सहभागिता हुने र ७ सय जनाले मेलाबाट रोजगारी प्राप्त गर्न सक्ने आयोजकले अपेक्षा गरेका छन् ।
गएको १७ गते कोशी प्रदेशबाट शुरु भएको मेला भोलि र पर्सि कर्णाली प्रदेशको सुर्खेतमा हुँदैछ । यस्तै सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ । यसअघि कोशीको विराटनगर, मधेशको जनकपुर र गण्डकीको पोखरामा मेला भैसकेको छ ।
सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले सरकारले रोजगार मेला शुरु गरेको हो ।
प्रतिक्रिया