कानूनी कारवाहीले बालविवाह रोकिन सक्छ : शाही

कानूनी कारवाहीले बालविवाह रोकिन सक्छ : शाही

दैलेख – जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले बालविवाह गरेका सबैलाई कारवाही गराउने गरिए पनि बालविवाह रोकथाम हुने बताउनुभएको छ । बालविवाह बिरुद्धको साझा अभियान दैलेखले आज जिल्ला सदरमुकाममा आयोजित जिल्ला स्तरीय नीति सम्वाद कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

बालविवाह गरेका घटनाहरु परिवार र समुदायले लुकाउने गरेको बताउदै प्रहरीमा आएका छिटपुट सूचनामा पनि अभिभावकको जिम्मामा छोड्ने गरिंदा अरु बालबालिकाहरु पनि हौसिने हुन सक्छ, जानकारीमा आएका सबैलाई कारवाही गरिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शाहीले टिप्पणी गर्नुभयो । आफ्नोलाई जोगाउन कसैले कोशिस गर्नुहुन्न उहाँले भन्नुभयो ।

त्यसबखत गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्दले बालविवाह हुने कारणहरुको उपचारमा ध्यान दिनुपर्ने बताउनुभयो । गरिबी निवारण, शिक्षाको गुणस्तर बृद्धिमा सहयोग आवश्यक रहेको उहाँको सुझाव छ । 

नारायण क्याम्पसका उपप्राध्यापक सपना प्रधानले बालविवाहले पार्ने स्वास्थ्य र सामाजिक असर बारे सचेतना बढाउनुपर्ने औंल्याउनुभयो । नारायण नगरपालिकाका सामाजिक शाखा प्रमुख खमबहादुर थापाले कानूनी शिक्षा जोड दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा अधिवक्ता हरिबहादुर खत्री, जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका शाखा प्रमुख असई चन्द्रबहादुर बनगाडी, सामाजिक विकास कार्यालयका नासु देबी सावद, जिल्ला सरकारी वकील कार्यालय दैलेखका नासु लिलाराम महतारा, युवा अभियन्ता सुनिता सोनी लगायतले बालविवाह रोकथाम सवालमा बोल्नुभएको थियो । 
 

प्रतिक्रिया