कांग्रेस ८४ सम्मै प्रतिपक्षमा बस्छ : महामन्त्री थापा

कांग्रेस ८४ सम्मै प्रतिपक्षमा बस्छ : महामन्त्री थापा

काठमाडौँ -  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताउनुभएको हो । 

महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताउनुभयो । तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको उहाँको भनाइ छ। 

‘कांग्रेसको सरकार बनाउने र गिराउने चाहना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन’, उहाँले भन्नुभयो । 

महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताउनुभयो । उहाँले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गर्नुभयो । 

महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्नेबेला आएको बताउनुभयो । उहाँले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । आगामी बैठकले पार्टीका भातृ संस्थाका बारेमा निर्णय लिने उहाँले बताउनुभयो । 

कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले काठमाडौँका जनता सचेत भएकाले सोहीअनुसार पार्टीले रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘सङ्गठनलाई सशक्त बनाउन जनसम्पर्क र जनताका चाहनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ’, उहाँले भन्नुभयो । 

नेता पौडेलले गिरिबन्धु टि स्टेटका बारेमा अदालतले फैसला गरेकाले त्यसबारे कांग्रेसले कुरा उठाउँदै आएको बताउनुभयो । गिरिबन्धु टि स्टेटका बारेमा सहकारी जस्तै कुरा उठाउन जरुरी भएको उहाँले बताउनुभयो । 

नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य रमेशकुमार खड्काले पार्टीको सङ्गठनलाई बलियो बनाए मात्र सबै क्षेत्रमा कांग्रेसले जित हासिल गर्नसक्ने बताउनुभयो । 

प्रतिक्रिया