झोलुङ्गे पुलकाे लट्ठा चुँडिंदा अड्किएका खच्चडको उद्धार

झोलुङ्गे पुलकाे लट्ठा चुँडिंदा अड्किएका खच्चडको उद्धार

दैलेख – अछामको चिनेतडा र दैलेखको खिड्कीजिउला जोड्ने बीबीएलएल झोलुङ्गे पुलको लट्ठा चुँडिंदा पुल चँडिंएको छ । खिड्कीजिउलापट्टि बेसमा बाँधिएको पुलको मुनिपट्टिको लट्ठा चुँडिएर आउजाउ गर्न नमिल्ने गरी टाँगिएपछि पुलमै अड्किएका १३ वटा खच्चड उद्धार गरिएको छ ।  

अछामको पञ्चदेवलबिनायक नगरपालिका–९ राँकु गाउँको व्यापारीको चामल लिन खिड्कीजिउला पुग्नै लागेको बेला उक्त दुर्घटना भएको हो । विहान साढे १० बजेतिर खच्चडहरु एकै पटक आउँदा पुलको लट्ठा चुँडिंदा अड्किएका मध्ये ११ वटाको जीवितै उद्धार गरिएको र दुई वटा मृत्यू भएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । 

घटनाको जानकारी आउना साथ घटनास्थल पुगेकाे नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी स्थानीयहरुको समेत सहयोगमा पुलकाे जाली लगाइएकाे तार काटेर केहीलाई पुलबाटै र केहीलाई कर्णाली नदीमा झारेर डुंगाकाे सहायताले  अड्किएका खच्चडहरुको उद्धार गरेका दैलेख प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । 

झोलुङ्गे पुल आउजाउ गर्न नसकिने भएपछि पञ्चदेवलबिनायक नगरपालिका–९ को चन्द्रिका मावि कालेकाँडामा पढ्न गएका दैलेखको खिड्कीजिउला, मालाचौर, किटु, घट्टेखोलाका बालबालिकाहरुलाई डुङ्गाबाट कर्णाली नदी पार गराइएको थियो । यो पुलको विकल्प नहुँदा उनीहरु विद्यालय जान नसक्ने स्थिति रहेको राकमका स्थानीय गणेश सुनारले बताउनुभयो ।   

प्रतिक्रिया