ब्रेन ट्युमरका बिरामीको वीर अस्पतालमा निःशुल्क शल्यक्रिया शुरु

ब्रेन ट्युमरका बिरामीको वीर अस्पतालमा निःशुल्क शल्यक्रिया शुरु

काठमाण्डौ – वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया शुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया शुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्रा. डा. राजीव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा एकदेखि तीन लाख रुपैयाँसम्म पर्छ ।

शरीरका कोषिकाहरू असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने प्रा. डा.झाले जानकारी दिनुभयो । ‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरू कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ’, उहाँले भन्नुभयो ।

ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो । एक्स–रे, सिटी–स्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरि सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरू बताउँछन् ।

वीर अस्पतालमा दैनिक ६ देखि आठ जना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन् । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो ।

प्रतिक्रिया