ग्रामीण जनजीवनलाई जीवित राखेकाे बाग्लुङको दिजगाउँ

ग्रामीण जनजीवनलाई जीवित राखेकाे बाग्लुङको दिजगाउँ तस्बिर : रासस

बागलुङ – नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ । तर पनि यहाँको मौलिकताले पर्यटकलाई पर्खिरहेको छ ।

दिजगाउँ प्रकृति र मौलिकतासँग रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य हो । ढोरपाटन उपत्यका हुँदै निसेलढोर जाने सडकको पारिपट्टि रहेको यस गाउँका स्थानीयको आफ्नै परम्परा, कला, संस्कृति र रीतिरिवाज छन् । मगर समुदायको बाहुल्यता रहेको दिजगाउँमा काठबाट बनेका घरहरूमात्रै छन् ।

परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन् । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र बिजुलीको पहुँच नपुगे पनि गाउँको सुन्दरताका कारण यहाँ पुग्न हरेक पर्यटक लालायित हुन्छन् ।

यस गाउँ ढोरपाटन उपत्यका नजिकै रहे पनि अहिलेसम्म आधुनिकताले जोडिन सकेको छैन । ढोरपाटन उपत्यका क्षेत्रमा पछिल्लो समय नयाँ शैलीका घर भवन बन्दै गएका छन् । सामान्य आधारभूत सेवासमेत नपुगेको गाउँका स्थानीय खेतीपाती र पशुपालन गरी जीविकोपार्जन गर्दै आएका छन् । झन्डै एक दशक अगाडि निसेलढोर जोडिने सडकले गाउँलाई नछोए पनि उत्तरगङ्गा नदी पार गरेर गाडीको सुविधा भने पाउन सक्छन् ।

मौलिकता र प्राकृतिक सुन्दरताको सङ्गम रहेको दिजगाउँमा बेलाबखत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । अझ बढी त बर्खाको समय पदयात्र गर्दै युवायुवती यहाँ जाने गरेका छन् । भौगोलिक विकटताका र प्रचारप्रसार कमीले ओझेलमा रहेको यस गाउँमा पछिल्लो केही वर्षयता भने धेरैको नजर पुग्न थालेको छ ।

निसीखोलाबाट निसेलढोर जाने मुख्य बाटोमै दिजगाउँ पर्ने हुँदा पर्यटकले यस गाउँको सुन्दरताको स्वादन गर्नेछन् । गाउँमा पर्यटक आएर बास बस्न खोजे पनि बिजुली नहुँदा नबसी जाने गरेका स्थानीय मनकुमारी घर्तीमगरले बताउनुभयो । गाउँमा रहेको काठका घर हेर्न समय–समयमा विदेशी पर्यटक पनि आउने गरेको उहाँ बताउनुहुन्छ । धेरैजसो ढोरपाटन र निसीखोलाबाट पैदलयात्रामार्फत निसेलढोर पुग्ने मानिस दिजगाउँमा आउने घर्तीमगरले बताउनुभयो । गाउँमा खानेपानी र बिजुली नहुँदा आफूहरूले समस्या भोग्नुपरेको उहाँको भनाइ छ ।

यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समय बढी मान्छे घुम्न आउँछन् । गाउँभन्दा पारिपट्टि निसेलढोर जोड्ने सडक सञ्चालनमा रहेको हुँदा युवायुवती मोटरसाइकलमा समेत पुग्छन् । यति बेला गर्मी बढेको हुँदा बुटवल, चितवन र गुल्मीबाट धेरै युवा घुम्न आउने गरेका छन् ।

ढोरपाटन –९ का अध्यक्ष खीमबहादुर घर्तीमगरले यस गाउँको मौलिकता संरक्षण गरी राख्ने बताउनुभयो । गाउँको काठका घरले धेरै पर्यटकलाई आकर्षित गरिरहेको जनाउँदै बिस्तारै विकासले जोडिन थालेको उहाँको भनाइ छ ।

टाढा–टाढाबाट घुम्न आउने पर्यटकलाई लक्षित गरी दिजगाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको सुनाउँदै यसका लागि नगरपालिकासहित प्रदेश र केन्द्र सरकारको पनि सहयोग हुनुपर्ने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । गाउँमा सडक पुर्‍याउन प्रयास गरे पनि सिकार आरक्षको अवरोधका कारण अहिलेसम्म पुर्‍याउन नसकिएको उहाँको भनाइ छ ।-रासस

प्रतिक्रिया