धान नबिकेपछि झापाका किसान चिन्तित

धान नबिकेपछि झापाका किसान चिन्तित

झापा – गएको चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सय रुपैयाँसम्ममा धान बिक्री गरे पनि अहिले बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताउनुभयो ।

‘मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएक, दुई दिनदेखि बिक्री ठप्प छ’, थापाले भन्नुभयो । खेतमा धान पाकेर अलपत्र परेको उहाँले बताउनुभयो । धान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहनुभएका उहाँले किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।

झन्डै तीन बिघा क्षेत्रफलमा चैते धानखेती गर्नुभएका कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष दुई सय ५० मन धान उत्पादन हुने अनुमान गर्नुभएको छ । चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था नरहेको किसान बताउँछन् । मूल्य कम पाए पनि बेच्नैपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।

विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन वृद्धि भएको छ । नेपालमा बर्सेनि धान आयात भइरहेको अवस्थामा उत्पादन गरेको धानले मूल्य नपाउनु र कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको मिश्र बताउनुहुन्छ ।

गएको चैत १५ गते मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेका थियो ।

त्यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय गरेको थियो । तर अहिले सरकारले तोकेको समर्थन मूल्यभन्दा पनि कम मूल्यमा किसान धान बेच्न बाध्य हुनुका साथै बिक्रीसमेत नहुँदा चिन्तित बनेका छन् ।

प्रतिक्रिया