राष्ट्रपति पौडेल आज स्विट्जरल्यान्ड्को जेनेभातर्फ प्रस्थान

राष्ट्रपति पौडेल आज स्विट्जरल्यान्ड्को जेनेभातर्फ प्रस्थान

काठमाडौँ  – राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्ड्को जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ जेनेभा प्रस्थान गर्नुभएको हो ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विशिष्ट व्यक्तिले बिदाइ गर्नुभएको छ ।

पौडेलले पर्सि ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । नेपालका राष्ट्र प्रमुख र स्विस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलो पटक हो ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया