सल्यानको कालिमाटी ५ लाई प्रदेशकै पहिलो पोषणमैत्री वडा घोषणा

सल्यानको कालिमाटी  ५ लाई प्रदेशकै पहिलो पोषणमैत्री वडा घोषणा

सल्यान  -    सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर  -५ कर्णाली प्रदेशकै पहिलो पोषणमैत्री वडा घोषणा गरिएको छ । पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०८० बमोजिम तोकिएका सबै सूचकहरू पुरा भएपनि बिहीबार एक  कार्यक्रमका बीच कर्णाली प्रदेशकै पहिलो पोषणमैत्री वडाका रुपमा घोषणा गरिएको हो । 

वडा भित्र रहेका ५५८ घरधुरीमा खानेपानी, सरसफाइका क्षेत्रमा भाडा धुने र सुकाउने च्याङ्ग, जुठ्यान, करेसाबारी, कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि खाल्टा लगाएका ७२ वटा सूचक पुरा भएपछि नेपालकै दोस्रो र कर्णाली प्रदेशकै पहिलो वडाका रुपमा घोषणा गरिएको कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्री केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षको अथक मेहनत र सबैको लगनबाट यो सम्भव भएको बताउँदै अब बाँकी वडाहरूलाई घोषणा गर्न कार्यक्रमलाई अघि बढाउने बताउनुभयो । 

५५८ घरधुरी रहेको वडामा २ हजार ९ सय ४९ जनसङ्ख्या रहेको छ जसमा १३७८ महिला र १५७१ पुरुष गरेका छन् । यस्तै ९४ जना सुनौलो हजार दिनका आमा, १६ गर्भवती महिला, ४२६ जना १० वर्षदेखि १९ वर्षमुनिका किशोर किशोरी रहेको वडाध्यक्ष टोप बहादुर कार्कीले जानकारी दिनुभयो । 

विभिन्न पोषणयुक्त खाना, सुत्केरी महिलाको स्याहार, सुनौला हजार दिनका आमा र बच्चाको हेरचाहका साथै सरसफाइका विविध गतिविधि नियमित सञ्चालन भइरहेको वडामा करिब दुई वर्ष अगाडि थालिएको अभियानबाट पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विभिन्न सुचांक पुरा भएको उहाँको भनाई छ । 

 हेर्दा घोषणा गर्न सहज देखिएपछि मसिनो गरी प्रत्येक घरको नियमित अनुगमन तथा निरीक्षण गर्नु पर्ने',उहाँले भन्नुभयो, सूचक कार्यान्वयन भए नभएको हेर्नु पर्ने, सरसफाइका कार्य हेर्नु पर्ने भएकाले जटिल विषय रहेका छन् तर सबैलाई पार गरेर अघि बढेका छौँ ।' 

प्रादेशिक योजना आयोग र जिल्ला समन्वय समिति सल्यानले अनुगमन तथा निरीक्षण गरी अनुमति दिएपछि वडा घोषणा गरिएको हो ।  घोषणा कार्यक्रममा बोल्दै पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पोषणमैत्री घोषणा भइसकेपछि अब दिगोपनमा लागि जोड दिन आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया