ओलको व्यावसायिक खेती गर्ने घट्दै किसानको सङ्ख्या

भारतमा उत्पादन भएका ओल सस्तो मूल्यमा नेपालको बजारमा भित्रिँदा स्वदेशमा उत्पादित ओल नेपालीको भान्सामा पुग्न पनि कठिन

ओलको व्यावसायिक खेती गर्ने घट्दै किसानको सङ्ख्या फाइल तस्बिर

काठमाण्डौ – बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्यालगायत कारण ओलको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिए पनि व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको हो ।

विभिन्न पौष्टिक तत्त्व हुने ओलको खेती गर्न अरू बाली लगाउन जस्तो मेहनत लाग्दैन । मल धेरै नचाहिने र रोगकिराको पनि जोखिम हुँदैन । तर बीउ नपाउने समस्या मुख्य छ । यसै कारण किसानले ओल खेतीको विस्तार गर्न नसकेका किसान विद्यानन्द साह र डिल्लीप्रसाद मेहता बताउनुहुन्छ ।

ओल भोज भतेरमा तरकारी, अचार बनाएर खाने गरिन्छ । माटोमुनि फल्ने कन्दमूलका रूपमा चिनिने ओल वर्षायाम अर्थात् असार, साउन र भदौ महिनामा खानयोग्य हुन्छ । तराई क्षेत्रमा परम्परागत भान्सा र व्यञ्जनमा ओलको महत्त्वपूर्ण स्थान छ ।

पर्याप्त बीउ नपाएका कारण किसानलाई चाहेअनुसार बीउ बाँड्न नसकेको सुनसरीको हरिनगर गाउँपालिकाको कृषि शाखा प्रमुख रमेश न्यौपानेको भनाइ छ । भारतमा उत्पादन भएका ओल सस्तो मूल्यमा नेपालको बजारमा भित्रिँदा स्वदेशमा उत्पादित ओल नेपालीको भान्सामा पुग्न पनि कठिन छ ।

ओल खेतीका विज्ञ तथा किसान मनोजकुमार सिंहले बजारको समस्या मुख्य चुनौती रहेको बताउनुभयो । पहिले व्यावसायिक रूपमा कोशी प्रदेशको सुनसरी, मोरङसहित तराईका जिल्लामा खेती गर्ने गरेको भए पनि अहिले फाट्टफुट्ट रूपमा कतै–कतै मात्र ओलको खेती हुने गरेको छ ।

प्रतिक्रिया