पश्चिम नेपालमा खडेरीका कारण बारीमा सुक्न थाले मकैका बोट

पश्चिम नेपालमा खडेरीका कारण बारीमा सुक्न थाले मकैका बोट

काठमाण्डौ – पूर्वमा धेरै पानी परेर बाढी पहिरोले सताउन थाले पनि पश्चिम नेपालमा भने खडेरी परेको छ । पश्चिम तराईका जिल्लामा चर्को गर्मी छ । मनसुन आज बल्ल मधेश प्रदेशको पूर्वी भागमा पुगेकाले पश्चिम नेपालको खडेरी अझै केही दिन बाँकी नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

असार लागिसक्दा पनि वर्षा नभएपछि म्याग्दीलगायत पश्चिम नेपालका बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् ।

मकै लगाउने समय फागुन, चैतमा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् । ‘बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ’, म्याग्दीको मालिका गाउँपालिका–४ का  हिमबहादुर विकले बताउनुभयो ।

हिउँदयाममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका–२ का किसान टेकबहादुर विकले बताउनुभयो । खेतमा रोपाइँका लागि राखेको धानको ब्याड पनि पहेँलिँदै गएको छ, खडेरीका कारण किरा र कमिलाले बीउ खाएर नाश गर्न थालेका छन ।

आज भने म्याग्दीका केही ठाउँमा पानी परेको छ । मौसम तातिरहेको र गर्मीले हैरान बनाइरहेकाले जनजीवन प्रभावित बनेको किसानको भनाइ रहेको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा पारेको स्थानीयको भनाइ छ । वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् ।

प्रतिक्रिया