काठमाडौँसहित केही ठाउँमा आज दिनभर पानी पर्ने
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी, मधेश र कोशी प्रदेशका केही ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । यी ठाउँमा आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद प्रतिभा मानन्धरकाअनुसार कोशी प्रदेशमा मनसुनी वायुको प्रभावले पानी परेको हो भने अरु ठाउँमा मनसुनी वायुसँगै स्थानीय वायु र पश्चिमी वायुको मिश्रित प्रभाव परेको छ ।
नेपालमा मनसुन भित्रिएको एक हप्ता बितिसक्दा पनि सक्रिय हुन सकेको छैन । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायु कोशीबाट पश्चिमतिर बिस्तारै सर्ने क्रममा रहेको मौसमविदले बताएका छन् । पानी पर्न थालेपछि काठमाण्डौसहित मध्य र पूर्वी भेगको तापक्रम घट्न थालेको छ । तर, मध्य तथा पश्चिम तराईमा भने अझै केही दिन अध्याधिक गर्मीको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ । पश्चिम तराईका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि नै छ ।
प्रतिक्रिया