धानको ब्याड जोगाउन गाग्रीमा पानी बोकेर सिचाईँ गर्दै किसान

धानको ब्याड जोगाउन गाग्रीमा पानी बोकेर सिचाईँ गर्दै किसान

सल्यान -  गर्मी बढेसँगै लामो समयको खडेरीले पानीका मुहान सुक्न थालेपछि सल्यानका किसानले धानको ब्याड बचाउन गाग्रीबाट पानी बोकेर सिंचाइँ गर्न थालेका छन् । 

लामो समयदेखिको खडेरीले पानी नपर्दा खोलानाला सुक्दा धानको ब्याडमा धाँजा फाट्न थालेपछि किसानले गाग्रीमा पानी बोकेर ब्याडमा सिँचाइ गर्न थालेका छन्। 

लामो समयसम्मको खडेरीले कुलोमा आउने पानी नै सुकेपछि शारदा नदीबाट गाग्री, बाल्टीमा पानी बोकेर ब्याडमा सिँचाइ गरिरहेको शारदा नगरपालिका– १ की सुन्तली बुढाथोकीले बताउनुभयो । पानी नपर्दा धानको ब्याड सुक्न थालेपछि एक हप्तादेखि गाग्रीमा पानी बोकेर ब्याड बचाउनुपरेको उहाँको भनाइ छ।

साँझ–बिहान बोकेर पानी हाल्दा पनि आकाशबाट परेजस्तो नहुने अर्का किसान सरस्वती बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अत्यधिक गर्मी छ, बोकेर हालेको पानीले के हुन्थ्यो र एकै छिनमा सुकिहाल्छ ।’ 

इनार तथा बोरिङ हुने किसानले इनार तथा बोरिङबाट सिँचाइ गरिरहेका छन् । सल्यानको प्रमुख शारदा नदी नै सुक्न थालेपछि शारदा नदीको सिँचाइमा निर्भर किसान चिन्तित बनेका छन्। अझै एक हप्तासम्म पानी नपरे धानको ब्याड बचाउन मुस्किल हुने बुढाथोकीले बताउनुभयो । 

प्रतिक्रिया