उत्पादनमूलक क्षेत्रमा लगानी बढाऊ : सभापति थापा

उत्पादनमूलक क्षेत्रमा लगानी बढाऊ : सभापति थापा

दैलेख – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । नारायण नगरपालिकाले आयोजना गरेको आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

सभापति थापाले संघीय सरकार, प्रदेश सरकारसंग माग्ने योजना र स्थानीय सरकार आफैले बनाउने योजनाहरु कृषि उत्पादन बढाउने प्रविधि विस्तार, युवा स्वरोजगारी र स्थानीय बस्तुको उपभोग बढावा दिन आग्रह गर्नुभयो ।

 कार्यक्रममा राष्ट्रियसभाका सदस्य सावित्री मल्लले स्थानीय न्यायिक समितिलाई सवल र कार्यमूलक बनाउन आग्रह गर्नुभयो । त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले विकास आयोजनाहरुको गुणस्तरीयता र पारदर्शितामा विशेष ध्यान सुझाव दिनुभयो । 

नारायण नगरपालिकाका मेयर प्राप्त सुझावहरु समेटेर आगामी वर्षको बजेट तथा कार्यक्रमहरु तय गरिने प्रतिवद्धता जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यले विधि र प्रक्रियाका हिसावले जनप्रतिनिधिको सहभागितामा बजेट बनाउने नीति भएकोले आम नागरिक समेतको पृष्ठपोषण समेट्न सुझाव संकलन कार्यक्रम राखिएको प्रष्ट्याउनुभयो । 

त्यसबखत पूर्व साँसद रबिन्द्र शर्मा, जिसस उपप्रमुख केशव शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्य शाही, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोपाल रिजाल, नेपाली काँग्रेसका नगर सभापति मनोज थापा, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जंगबहादुर शाही, नेमकिपाका रत्नेश श्रेष्ठ र राप्रपाका कृष्ण भण्डारीले बोल्नुभएको थियो ।

नगरपालिकाले गरेको विकास कार्यक्रमको भौतिक प्रगति तथा प्रभावकारिता विषयमा प्रस्तूतीपछि गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापा, मानव अधिकारका लागि एकल महिलाका तर्फबाट रिना पोखरेल, अधिकारकर्मी अमर सुनार, बाल सञ्जालका प्रतिनिधि आरती गौतम लगायतले लक्षित समुदायको लागि बजेट कार्यक्रमको सवालमा ध्यानाकर्षण गराउनुभएको थियो । 


 

प्रतिक्रिया