सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त

सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त

काठमाडौँ -   अरनिको राजमार्गको सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ ।

भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडक खण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सडक विस्तार शुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल २५ प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।

२०७९ साल पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारका लागि सात दशमलव पाँच किलो मिटर लामो सूर्यविनायक–साँगा सडक खण्ड तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किलोमिटर सडक खण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयकाअनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको छ । आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडक खण्डमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ ।

यस्तो अवस्थामा काम गर्न गाह्रो, मजदुर थप्न र सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाइ भएको आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले बताउनुभयो । यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ ।

प्रतिक्रिया