अदालतद्वारा नक्कली परीक्षार्थीलाई कैद सजाय

अदालतद्वारा नक्कली परीक्षार्थीलाई कैद सजाय

दैलेख - दैलेख जिल्ला अदालतले दुई जना नक्कली परीक्षार्थीलाई कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट भाईको सट्टामा परीक्षा दिने दाईलाई १० दिन कैद र दाईलाई परीक्षा दिन लगाउने भाईलाई ६ दिन कैद भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो । 

प्रहरी प्रतिवेदन र अदालती तहकीकातको क्रममा समेत नक्कल परीक्षार्थी बन्ने र बनाउने कसूर गरेको ठहरेकोले दुवैलाई जनही दुई सय रुपैंयाँ पीडित राहत कोषमा तिर्नुपर्ने समेत फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार लामिछानेले बताउनुभयो । 

                                             गएकाे चैतमा सञ्चालित एसईई परीक्षाकाे फाइल तस्बिर

गैडाबाज मावि रानीवनका नियमित एसईई परीक्षार्थी १५ वर्षीय भाईका लागि नक्कली परीक्षार्थी बनेका १७ वर्षीय बालकले मुखमा मास्क लगाई आएका र प्रवेशपत्रको फोटो पछि टाँसेको देखेर केन्द्राध्यक्ष सोधीखोजी गर्दा पत्ता लागेको थियो ।

गएको चैत १५ गते एसईई परीक्षाको पहिलो दिन अंग्रेजी विषयमा परीक्षा दिइरहेको बेला नक्कली परीक्षार्थी दाई चाहिँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दाईलाई परीक्षा दिन पठाउने भाई चाहिँलाई प्रहरीले चार दिनपछि मात्र नियन्त्रणमा लिएको थियो । 

भाईको सट्टा नक्कली परीक्षार्थी बन्ने दाजु चाहिँले भने ‘भाईको पढाई कमजोर भएकोले पास गराउन परीक्षा दिन गएको हुँ ।' प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले गएको चैत २७ गते दैलेख जिल्ला अदालतमा परीक्षा कसूरमा मुद्दा दर्ता गरेको थियो ।  
 

प्रतिक्रिया