चलचित्र घरज्वाइँको "बिन्जुरी" सार्वजनिक

चलचित्र घरज्वाइँको "बिन्जुरी" सार्वजनिक

रुकुम-   रुकुम पूर्वको मगर समुदायमा आधारित चलचित्र घरज्वाइँको बिन्जुरी गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज गीत सार्वजनिक गरेको हो ।

गीतमा दयाहाङ राई र मिरुना मगर बिचको प्रेमलाई झल्काइएको छ । गीतमा दयाहाङ मिरुनालाई पछ्याइरहेको देखिन्छन् । शिक्षकको भूमिकामा देखिएका उनी मिरुनाको प्रेममा लिप्त छन् । उनी गीतमा मिरुनालाई ‘साई’ दिँदै विवाहका लागि प्रस्ताव समेत गर्छन् ।

यो चलचित्रमा दयाहाङले मिरुनालाई पाउन सङ्घर्ष गरिरहेको अनुमान गर्न मुस्किल छैन । उनी मिरुना जुन ठाउँ पुग्यो त्यही ठाउँमा पछ्याइरहेका छन् । मिरुनालाई भलिबल खेलिरहेको अवस्थामा गीतमा देख्न सकिन्छ । उनलाई दयाहाङले सिकाइरहेको पनि देख्न सकिन्छ ।

रुकुम पूर्वका विभिन्न ठाउँमा खिचिएको घरज्वाइँ यही असार २८ गते देखि प्रदर्शनमा आउने छ । केही समय अघि टिजर सार्वजनिक गरेको निर्माण पक्षले आज पहिलो गीत बिन्जुरी सार्वजनिक गरेको हो ।

निर्माण पक्ष यति बेला चलचित्रको प्रचारप्रसारमा लागि परेको छ । असार २ गते काठमाडौँमा आयोजित भूमे नाचमा पनि दयाहाङ, मिरुना सहितको टोली पुगेर चलचित्रको प्रचार गरेको थियो । चलचित्रको ट्रेलर भने सार्वजनिक गरिएको छैन ।

चलचित्रमा दयाहाङ र मिरुना मुख्य भूमिकामा छन् । चलचित्रमा मगर समुदायमा प्रचलित घरज्वाइँको रीतिलाई देखाइएको छ । यो चलचित्रको कथा रुकुम पूर्वको तकसेराका अनिल बुढाले लेख्नुभएको हो भने निर्देशन पनि उहाँको नै रहेको छ ।

चलचित्रको निर्माता रोल्पाका जनक घर्ती मगर रहनुभएको छ । यस चलचित्रमा दयाहाङ, मिरुना बाहेक बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनिल मगर लगायतलाई पनि देख्न सकिने छ ।   

प्रतिक्रिया