मुख्यमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा रुकुम पश्चिम र कालिकोटले जीत

मुख्यमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा रुकुम पश्चिम र कालिकोटले जीत

सुर्खेत -   कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी मुख्यमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा रुकुम पश्चिम र कालिकोटले जीत दर्ता गरेका छन् । आज भएका खेलमा रुकुम पश्चिम र कालिकोट विजयी भएका हुन् । पहिलो खेलमा रुकुम पश्चिमले जाजरकोटलाई र दोस्रो खेलमा कालिकोटले दैलेखलाई पराजित गरे । 

वीरेन्द्रनगरको कालिन्चोक क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा रुकुम पश्चिमले जाजरकोटलाई २० रनले पराजित गर्दै जीतको सुरुवात गरेको हो । भने महत्त्वपूर्ण २ अङ्क जोडेको छ । वर्षाले प्रभावित बनाएपछि खेल ५ ओभरमा झारेर खेलाइएको थियो । 

टस हारेर ब्याटिङको निम्तो पाएको रुकुम पश्चिमले अरविन्द घर्तीको आक्रामक ब्याटिङमा निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा ६९ रन बनाएको थियो । अरविन्द नट आउट ४८ रनको योगदान गरे भने अर्जुन घर्ती १३ रन बनाएर रन आउट भएका थिए । विजय पुन १ रन बनाएर इनिङको अन्तिम बलमा आउट भए । जाजरकोटका लागि निवास हमालले १ विकेट लिए ।

जबाफी ब्याटिङमा उत्रिएको जाजरकोट निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ४९ रनमा समेटियो । जाजरकोटका लागि विष्णु शाहीले २४, सौगात कार्कीले १८ र सुमन गुरुङले १ रनको योगदान गरे । बलिङ तर्फ रुकुम पश्चिमका कप्तान ताराप्रकाश गिरी (विवश)ले १ विकेट लिए ।

जाजरकोटको यो दोस्रो खेल हो र पहिलो हार हो । उसले शनिवार भएको पहिलो खेलमा कालिकोटलाई पराजित गर्दै २ अङ्क जोडेको थियो । रुकुम पश्चिमको पहिलो खेल शनिवार दैलेखसँग रहेकामा वर्षाका कारण स्थगित भएपछि अङ्क बाँडेको थियो । 

त्यस्तै आजै भएको अर्को खेलमा कालिकोटले दैलेख माथि २ विकेटको रोमाञ्चक जीत दर्ता गर्‍यो । टस जितेर पहिला ब्याटिङ गरेको दैलेख १८।५ ओभरमा सबै १० विकेट गुमाएर १ सय १७ रनमा समेटिएको थियो । दैलेखका लागि रामचन्द्र सिंहले सर्वाधिक ३५ रनको योगदान गरे । अभिनाश हमालले १९ रन, राजेश खड्काले १५ रनको योगदान गर्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कालिकोटका लागि लक्ष्मण बम र सुर्या बमले समान ३ विकेट लिए । त्यस्तै नवीन न्यौपानेको नाममा २ र सुमित बुढाथोकीको नाममा एक विकेट रह्यो । 

१ सय १८ रनको लक्ष पछ्याएको कालिकोटले लक्ष्मण बमको २३, नवीन न्यौपानेको २२, कमल विष्टको २० र कप्तान सुनिल शाहीको १३ रनको मदतमा ८ विकेट गुमाएर ६ बल बाँकी छदै लक्ष पुरा गरेको हो । दैलेखका विजय बोहरा र प्रकाश शाहीले समान २ विकेट लिँदा कप्तान हिमांशु शाहीले १ विकेट लिए पनि त्यो जीतका लागि पर्याप्त भएन । कालिकोटले पनि पहिलो जित दर्ता गरेको हो । आफ्नो पहिलो खेलमा जाजरकोटसँग पराजित भएको कालिकोट दोस्रो खेलमा भने विजयी हुँदै महत्त्वपूर्ण २ अङ्क जोडेको छ । 

समूह 'ए' मा रुकुम पश्चिम ३ अङ्कका साथ शीर्ष स्थानमा छ । जाजरकोट २ अङ्कका साथ दोस्रो, कालिकोट २ अङ्कका साथ तेस्रो र दैलेख १ अङ्कका चौथो स्थानमा रहेको छ । 

प्रतियोगिताको समूह ए मा रुकुम पश्चिम, दैलेख, कालिकोट र जाजरकोट रहेका छन् । समूह बि मा भने सुर्खेत, सल्यान र जुम्ला रहेका छन् । दुवै समूहबाट उत्कृष्ट दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ७ वटा जिल्लाको सहभागिता रहेको छ ।

१४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख १० हजार पुरस्कार पाउँदा उप विजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउने छ । 

प्रतिक्रिया