अस्ट्रेलियालाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश

अस्ट्रेलियालाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश

काठमाडौँ -   अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सुपर ८ अन्तर्गत आफ्नो अन्तिम खेलमा अस्ट्रेलियालाई २१ रनले हराउँदै भारत अन्तिम चारमा प्रवेश गरेको हो।

भारत सुपर ८ मा अपराजित रहँदै सेमिफाइनल पुग्दा अस्ट्रेलिया भने आगामी यात्राको लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्ने अवस्थामा छ। 

सुपर ८ को समूह १ मा भारतले ३ खेलमा ६ अंक जोडेको छ। समान खेलबाट अस्ट्रेलियाको २ अंक छ। एक खेल कम खेलेको अफगानिस्तानको २ खेलमा २ अंक छ भने बंगलादेश अंकविहीन छ। आजै हुने सुपर ८ को अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशविरुद्ध जित निकाले दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्नेछ। 

अफगानिस्तान पराजित भएको अवस्थामा अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक हुनेछ। यस्तोमा नेट रनरेटका आधारमा समूहको  दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछ।  सोमबार राति भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा  ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो। 

अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का सहित सर्वाधिक ७६ रन बनाएपनि टोलीको हार टार्न सकेनन्।  मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २० तथा टिम डेविडले १५ रन थपे।

भारतका अर्शदिप सिंहले ३ विकेट लिए। कुलदीप यादवले २ तथा जश्रप्रित बुमराह र अक्षर पटेलले समान १ विकेट लिए।  त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रनको योगफल तयार पारेको थियो। 

कप्तान रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ९२ रनको उत्कृष्ट कप्तानी पारी खेले।  सूर्यकुमार यादवले ३१, शिभम दुबेले २८, हार्दिक पन्ड्याले २७ तथा ऋषभ पन्तले १५ रन बनाए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिस समान २ विकेट लिए। जोश हेजलवुडले १ विकेट झारे।

प्रतिक्रिया