कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु

कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु

कञ्चनपुर -   कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार बिहान चट्याङ लागेर जोशीपुर गाउँपालिका–३ भित्रियाका ३१ वर्षीय जयराम डगौँरा र धनगढी उपमहानगरपालिका–१८ एफ गाउँका ४७ वर्षीय सालिन चौधरीको मृत्यु भएको हो।

यस्तै, विद्यालय जाँदै गर्दा चट्याङ लागेर घोडाघोडी नगरपालिका–९ बुदेनीका ३ बालिकाहरू गम्भीर घाइते भएका छन्। इलाका प्रहरी सुखडका डीएसपी दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका छन्। 

उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो। अन्य दुई बालिकाको टाउको चोट लागेको छ। 

उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि  बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको डीएसपी पालले जानकारी दिनुभयो ।

प्रतिक्रिया