अपराध पीडितले होस्टाइल हुन नपर्ने वातावरण चाहियो : डीएसपी दाहाल

अपराध पीडितले होस्टाइल हुन नपर्ने वातावरण चाहियो : डीएसपी दाहाल

दैलेख – दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहालले अपराध पीडितले होस्टाइल हुन नपर्ने वातावरणका लागि नागरिक समाजको सहयोग माग्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखमा आज आयोजना गरेको मानव अधिकार वर्ष पुस्तकका लागि अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो ‘डर, त्रास र प्रभावबाट मुक्त पार्न सके पीडितले न्याय पाउछन् ।’

डीएसपी दाहालले आग्रह गर्नुभयो ‘कसैलाई बदला लिन, दुख दिन वा कसैको भविष्य बरबाद पार्न बनावटी मुद्दामा हाल्नु पनि हुन्न अनि अन्याय सहन पनि हुन्न ।’ उहाँले थप्नुभयो ‘बास्तविक पीडितले मात्र मुद्दा दिए सबै मुद्दा सफल हुनसक्छन् ।’

कार्यक्रममा गैरसरकारी संस्था महासंघ दैलेखका सचिव राधा मल्लले मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिएका घटनाहरुमा घरेलु हिंसा लगायत महिलाले भोगिरहेको लैंगिक हिंसाका घटनाहरु प्राथमिकताका साथ समेट्नुपर्ने सुझाव दिनुभयो । 

सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले इन्सेकले अभिलेखीकरण गरेका घटनाहरु सार्वजनिक गरेबाट मानव अधिकार सचेतना उल्लेख्य सहयोग पुगेको बताउदै भाषागत शुद्धता, स्पष्ट सन्देश र मौलिक हुन सके अझैं राम्रो हुने बताउनुभयो । 

त्यसबखत इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२४ को जनवरीदेखि ६ महिना अवधिमा ३८ वटा घटना अभिलेखीकरण गरिएको जानकारी गराउनुभयो । सबै भन्दा धेरै घरेलु हिंसा ९, बालिका बलात्कार ७, बहुविवाह ५, अभद्र व्यवहार ५, बयस्क महिला बलात्कार ४, व्यक्ति हत्या ३, ज्यानमार्ने उद्योग २, बाल यौनदुरुपयोग २ र आत्महत्या दुरुत्साहन १ रहेको बताइएको छ । 
 

प्रतिक्रिया