लार्भा नष्ट गर्ने अभियानमा जुटयो काठमाडौँ महानगर

लार्भा नष्ट गर्ने अभियानमा जुटयो काठमाडौँ महानगर

काठमाडौँ  – काठमाण्डौ महानगरपालिका (कामपा) को स्वास्थ्य विभाग डेङ्गी सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ ।

नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गी नियन्त्रण फोकलपर्सनु ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

भुसालका अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य ठाउँमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानका क्रममा भइरहेका छन् । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

डेङ्गीको सङ्क्रमणका बारेमा परामर्श दिनका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा राखेको जनाएको छ । अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ ।

एक्कासी उच्च ज्वरो आउनु डेङ्गुको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिमिरा आउनेलगायत यसका मुख्य लक्षण रहेका छन् ।

प्रतिक्रिया