बोलेरो दुर्घटनामा आठ जना घाइते

बोलेरो दुर्घटनामा आठ जना घाइते
सुन्नुहोस्

दैलेख – बोलेरो दुर्घटना हुँदा दैलेखमा आठ जना यात्रु घाइते भएका छन् । सदरमुकामबाट नौमूले बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२–००१ च ०७८७ नम्बरको बोलेर नारायण नगरपालिका–५ धिताँमा दुर्घटना हुँदा बोलेरामा यात्रारत यात्रुहरु घाइते भएका हुन् । 

छातिको करङ्ग भाँचिएकी नौमूले गाउँपालिका–८ चौराठाकी ५६ वर्षीया सावित्री केसी र ढाडसंगै गर्धनको हड्डी चर्किएका नारायण नगरपालिका–४ सोतका ४१ वर्षीय बस्तीराम नेपालीलाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ । 

नारायण नगरपालिका–४ सोतकी २१ वर्षीया शान्ता खड्का, एक वर्षकी बालिका रियासा खड्का, नारायण नगरपालिका–६ भूर्तीकी ४० वर्षीया देउकला मगर, नौमूले गाउँपालिका–४ कालिकाका ८ वर्षीय बालक पारस नेपाली, नौमूले गाउँपालिका–५ गुराँसे घर भएका गाडी मालिक २८ वर्षीय भक्तबहादुर थापा र बर्दियाको बाँसगडी नगरपालिका–३ की निशा जैसी समेत ६ जनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ । 

दैलेख अस्पतालमा उपचारत घाइतेहरुको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले जानकारी दिनुभयो । सशस्त्र प्रहरीबल र जनपथ प्रहरीले घाइतेहरुको उद्धार गरेको थियो । चालक २१ वर्षीय खगिराम पुनमगरलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो । 

दैलेख–नौमूले सडक कालोपत्रेको लागि ठेक्का भएको तीन वर्ष अवधिमा ठेकेदारले कामै सुरु नगरी समय गुजारेकोको कारण यात्रुहरुलाई सास्ती भएको छ । पूर्वाधार कार्यालयले ताकेता नदिंदा वर्षातको समयमा पानीले सडक चिरेर नोक्सानी पारेको कारण सडक दुर्घटना हुने गरेको छ । 
 

प्रतिक्रिया