ज्वालासन्देश सम्पादक सुनार पुरस्कृत

ज्वालासन्देश सम्पादक सुनार पुरस्कृत
सुन्नुहोस्

दैलेख – आर्थिक तथा सामुदायिक विकासमा कलम चलाएको भन्दै ज्वालासन्देश सम्पादक अमर सुनार पुरस्कृत हुनुभएको छ । रोटरी इन्टरनेशनल ३२९२ को स्थापना दिवसको अवसरमा पत्रकारिताका ७ वटा विविध क्षेत्रमा ७ जना पत्रकारलाई दिने क्रममा आज काठमाण्डौंमा उहाँलाई उक्त पुरस्कार दिइएकोे हो ।

उहाँ लगायत स्वतन्त्र लेखनी तर्फ रामु सापकोटा, खानेपानी तथा सरसफाई सवालमा तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्य विषयमा बसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरता तर्फ विद्या राई, रोग उपचार तथा उपचार विषयमा स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापन तर्फ टंक पन्त पुरस्कृत हुनुभएको छ । 

पुरस्कृत सुनार पत्रकारिताको कर्मथलोमै दैलेखमै रहनुभएकोले उहाँकी छोरी दुर्गा बिकले काठमाण्डौंमा बुबाको पुरस्कार तथा सम्मानपत्र ग्रहण गर्नुभएको थियो । जातीय विभेद विरुद्ध सामाजिक सचेतनामा अगुवाई गर्दै आउनुभएका पत्रकार अमर सुनार जिल्लामा अधिकारकर्मी र तीन दशकदेखि निरन्तर जिल्लामै पत्रकारिता गर्दै आउनुभएको छ ।  

रोटरी इन्टरनेशनल ३२९२ काठमाण्डौंका कार्यवहाक अध्यक्ष वरिष्ठ पत्रकार नम्रता शर्माको अध्यक्षतामा भएको एक विशेष समारोहमा उक्त पुरस्कार दिइएको थियो । पुरस्कृत सातै जनालाई जनही ५१ हजार नगद र सम्मानपत्र रहेको थियो । तीन दशकदेखि पत्रकारिता गर्दै आएका सुनारलाई उत्पीडितहरुलाई नागरिकतामा सम्मानित नाम दिलाउन सरकारको नीति निर्माणमा प्रभाव पार्न सकेको भन्दै उक्त पुरस्कार दिइएको हो ।  

साेही कार्यक्रममा यो वर्ष पहिलो पटक दिइएको लाइफ टाइम एवार्ड जीवनभर पत्रकारितामा बिताउनु भएका बरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गर्ने घाेषणा गरिएको थियाे । एक लाख एक हजार रुपैंया राशीको यो पुरस्कार समाजसेवी सुरेश आचार्यले आफ्नो स्वर्गीय बुबा यज्ञप्रसाद आचार्यको स्मृतिमाको नाममा स्थापना गर्नुभएकाे हाे ।

 

प्रतिक्रिया