भैरबी पूर्ण खोप युक्त पालिका घोषणा

भैरबी पूर्ण खोप युक्त पालिका घोषणा

दैलेख - भैरबी गाउँपालिकालाई पूर्ण खोप युक्त पालिका घोषणा गरिएको छ । शनिबार औपचारिक कार्यक्रमबीच भैरबी गाउँपालिकालाई पूर्ण खोप युक्त पालिका घोषणा गरिएको हो । गाउँपालिकाका ७ वटै वडामा खाेप लगाउन नछुटेकाे एकीनका साथ उक्त घाेषणा गरिएकाे हाे । 

जन्मेदेखि १५ महिना भित्र बालबालिकाले लगाउने १३ प्रकारका नियमित खोप लगाएको सुनिश्चित गर्न भैरबी गाउँपालिका भित्रका बालबालिकाको घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेका बालबालिका समेत खोप प्रदान गरिएको भैरबी गाउँपालिकाका अध्यक्ष रीता शाहीले बताउनुभयो ।

भैरबी गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय दैलेख तथा जिल्ला समन्वयन समिति दैलेखबाट समेत अनुगमन गरी खोप सवैले प्रप्त गरेको सुनिश्चित भए पश्चात पूर्ण खोप युक्त पालिका घोषणा गरिएको शाखा प्रमुख सम्शेरबहादुर बिष्टले जानकारी दिनुभयो । 

भैरबी गाउँपालिकाका अध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देबी भण्डारी, स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मी, वडा नं. ६ का वडाध्यक्ष तुलबहादुर हमाल, वडा नं. २ का वडाध्यक्ष मीनबहादुर थापा, लगायतले पूर्ण खोप युक्त पालिका घोषणा र यसको उपलब्धी विषयमा प्रकाश पार्नुभएको थियो ।

नियमित खाेप कार्यक्रममा क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टकार, हेपाटाईटिस बी, हेमोफिलस ईन्फुजा, पोलियो, दादुरा, रुबेला, न्युमोनिया, जापानिस इन्सेफलाइटिस र झाडापखाला विरुद्ध रोटा भाइरस बिरुद्दको खोप तथा गर्भवती महिलाहरुका लागि टिटि खोप, धनुष्टकार र भ्यागुते रोग विरूद्धकाे खोप उपलब्ध लगाउने गरिन्छ । 

संघ सरकारले उपलब्ध गराउने यी खाेपहरू भैरबी गाउँपालिकाका ७ वटै वडाका ३ स्वास्थ्य चाैकी र ४ वटा अाधारभूत स्वास्थ्य सेवा केन्द्रले १८ वटा खाेप केन्द्रबाट २३ सय १२ जना बालबालिका दिइएकाे थियाे । नियमित खाेपमा छुटेका चार सय ४९ जना बालबालिकालाई घरदैलाेमै पुगेर खाेप दिनुसंगै खाेपकाे महत्व बारे सचेतना दिइएकाे थियाे । 

प्रतिक्रिया