एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौँमा सुरु
![एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौँमा सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/samajbadi%25202_wF4bdp863D_musvctwui1bsh7sqkzlp8xwqpmjvu46tvl4fxkkmhgzqnexclvnabw77wn9s_6vW0TWVyai_5gconc5qyhy4gx2ijm8mf50yqgkv15dcg9frmehqyhgexpb0m2jccg5jpewo.jpg)
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा सुरु भएको छ । काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गर्नुभएको छ । उद्घाटनअघि नेताहरूसहितको र्याली निस्किएको थियो ।
महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, चित्रबहादुर केसी, उपेन्द्र यादव, डाक्टर सीके राउत, रञ्जिता श्रेष्ठ लगायत राजनीतिक दलका शीर्ष नेताहरू पुग्नुभएको छ । उहाँहरूले एकीकृत समाजवादीलाई शुभकामना दिने कार्यक्रम छ ।
यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आएका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताउनुभयो । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन आयोजना गरिएको उहाँको भनाइ छ ।
झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजसमेत तयार भइसकेको जानकारी दिनुभएको छ ।
पार्टी विधानअनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना र पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने पार्टीले जनाएको छ ।
प्रतिक्रिया