आफ्नै फार्मेसी सञ्चालन निर्देशन पालनामा निजी अस्पतालहरूको आनाकानी

आफ्नै फार्मेसी सञ्चालन निर्देशन पालनामा निजी अस्पतालहरूको आनाकानी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले झन्डै एक महिनाअघि निजी अस्पतालहरूलाई आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालनामा अस्पतालहरूले आनाकानी गरेका छन् ।

महानगरले गएको जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो । यो निर्देशनको पालना गरी अहिलेसम्म कुनै पनि अस्पताल महानगरको स्वास्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।

महर्जनका अनुसार केही अस्पतालले भने आफ्नै फर्मेसी सञ्चालनका लागि महानगरले दिएको समय सीमा अपुग भएको भन्दै आउँदो साउनदेखि शुरु गर्ने जानकारी गराएका छन् । अस्पतालले नै फार्मेसी सञ्चालन गर्दा बिरामीहरूलाई उचित मूल्यमा सही औषधी प्राप्त गर्न र विपन्न नागरिकलाई सुपथ मूल्यमा औषधि खरिद गर्न पाउने अधिकार पनि कार्यान्वयनमा सहज हुने महानगरको भनाइ छ ।

अहिले ५२ अस्पतालमध्ये १६ वटा अस्पतालले मात्रै आफ्नो फार्मेसी सञ्चालन गरेका छन् । त्यसैगरी अस्पताल एक व्यक्तिका नाममा र फार्मेसी अर्का व्यक्तिका नाममा सञ्चालन भएका  अस्पालहरूको सङ्ख्या २८ छ । अन्य बाँकी केहीले फार्मेसी नै सञ्चालन गरेका छैनन् ।

महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पताललाई आफ्नो स्वामित्वमा अनिवार्य रूपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ ।

प्रतिक्रिया