सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान

सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान

सल्यान -  प्रारम्भीक कक्षामा नविनतम शिक्षण विधि मार्फत शैक्षिण स्थिती सुधारका लागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ ।

सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाभित्र रहेका सामुदायीक विद्यालयका शिक्षक तथा शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाका श्रोत कक्षाका शिक्षकहरुलाई ८ दिन सम्म तालिम प्रदान गरिएको हो ।

 सल्यानको श्रीनगरमा आइतबार तालिमको समापन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षकमा क्षमता, उत्तरदायित्व र लगावको आवश्यकता रहने भन्दै शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि छत्रेश्वरीमा सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो  । प्रारम्भीक तहका शिक्षकहरुले तालिममा प्राप्त गरेको सिपलाई लागू गर्दै शिक्षण सिकाईका नयाँ विधि अपनाएर पठनपाठन गर्न उहाँको आग्रह छ ।

छत्रेश्वरी गाउँपालिकाको समन्वयमा स्ट्रिट चाइल्डको प्राविधिक सहयोग तथा हेम्पल फाउण्डेशनको आर्थिक सहयोगमा आसमान नेपालद्वारा सल्यानमा सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । छत्रेश्वरी गाउँपालिकाका ३६, दार्मा गाउँपालिकाका ३३ सामुदायीक विद्यालय तथा शारदा नगरपालिकाको एक र सिद्ध कुमाख गाउँपालिकाकाको एउटा श्रोत कक्षामा यो कार्यक्रम लागू भएको आसमान नेपालले जनाएको छ । 

दार्मा गाउँपालिकाका शिक्षकहरुको लागि शनिबार देखि बागचौरमा तालिम सुरु भएको छ । छत्रेश्वरी गाउँपालिकाका शिक्षकहरुको लागि गत असार ९ देखि सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै आसमान नेपालका कर्णाली प्रदेश प्रमुख उपेन्द्र भण्डारीले सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम नेपाल सरकारको कार्यक्रम भएकाले यसको कार्यान्वयन संगै शैक्षिक सुधारका लागि सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो  ।

यस्तै छत्रेश्वरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशर वली, स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराइले बोल्दै शिक्षण विधि शिक्षक केन्द्रित नभएर विद्यार्थीले बुझ्ने तरीकामा आधारित हुनुपर्नेमा जोड दिनुभएको थियो ।

 सहभागिहरुको तर्फबाट बोल्दै छत्रेश्वरीको भानुभक्त माविका शिक्षक कृष्ण आचार्य र त्रिजमावि भोटेचौरका शिक्षक रमा रेग्मीले विशेष गरेर नेपाली र गणीत विषयको शिक्षण गर्दा प्रयोग गर्न सकिने नयाँ विधिको बारे धेरै महत्वपूर्ण सिप सिकेको भन्दै कक्षा कोठामा लागू गर्ने प्रतिबद्धता जनाएका थिए ।

 शिक्षण शैलीमा बालबालिकाको रुचि, क्षमता, प्रवृत्ति र समस्यालाई ध्यान दिएर नयाँ तरिकाबाट पठनपाठन गर्नका लागि सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम सञ्चालन गरिएको आसमान नेपालका लक्ष्मण थापाले जानकारी दिनुभयो  ।

प्रतिक्रिया